बिहीबार, वैशाख १३, २०८१
05:16 | १०:०१

हङकङ सरकारले दिने १० हजार डलरको अनलाइन आवेदन खुल्यो  

१८ वर्ष उमेर पुगेका हङकङका नागरिकलाई दश हजार हङकङ डलर दिइने

नेपाली लिङ्क जुन २०, २०२०

लन्डन । हङकङ सरकारले आफ्ना नागरिक (पर्मानेन्ट रेसिडेन्ट आइडी कार्ड होल्डर) हरुलाई राहतस्वरूप १८ वर्ष उमेर पुगेका प्रत्येक व्यक्तिलाई दश हजार हङकङ डलर अर्थात करिब १ लाख ५८ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

गत फेब्रुअरीमा सन् २०२०-२१ को बजेटमा सरकारले उक्त घोषणा गरेको थियो । नगद भुक्तानी योजना (द स्कीम) को लागि आवेदन दिने समय यही २१ जुन २०२० देखि ३१ डिसेम्बर २०२१ सम्म निर्धारण गरिएको छ । यसैगरी आगामी जुलाई ८ तारिखबाट रकम भुक्तानी शुरु गर्ने बताइएको छ ।

३१ मार्च २०२१ सम्म१८ वर्ष पूरा भएका वा सो भन्दा माथिका उमेर भएका सबै स्थायी परिचय पत्र भएका बासिन्दाहरुले उक्त रकम दावी गर्न सक्नेछन् । आवेदनका लागि आवश्यक फारम लगायत विभिन्न जानकारी अनलाइनमा उपलब्ध गराइएको छ ।

खातावालहरुको लागि तोकिएका ई-बैंकिङ तथा हुलाक मार्फत आवेदन गर्न सकिनेछ । बैक खाता नहुनेहरूको लागि हुलाकमार्फत चेकप्राप्त गर्न सकिनेछ । बैंक खाता हुनेहरुले उक्त रकम आफूले रोजेको बैंकको व्यक्तिगत खाता मार्फत प्राप्त गर्नेछन् भने खाता नहुनेले हुलाक मार्फत चेक प्राप्त गर्नेछन् ।

सरकार विरोधी आन्दोलन र कोरोना भाइरस महामारीका कारण पर्न गएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै गत फेब्रुअरीमा हङकङ सरकारद्वारा उक्त घोषणा गरिएको थियो । उक्त राहत प्याकेजबाट ७० लाख भन्दा बढी त्यहाँका बासिन्दा लाभान्वित हुनेछन् भने करिब ७१ अर्ब डलर खर्च हुने सरकारले बताएको छ ।

हङकङ बाहिर रहेका र हङकङ नफर्किने गरि गएका हङकङका नागरिकलाई पनि राहत स्वरुप रकम दिने सरकारको नीतिको केहीले आलोचना गरेका छन् । तर प्रक्रियागत विभिन्न विषयमा हुने जटिलताले गर्दा सबैमा एकरुपता कायम गरेको भन्दै सरकारले आफ्नो बचाउ गरेको छ ।

यसअघि सन् २०११ मा पनि हङकङ सरकारले आफ्ना बासिन्दालाई प्रति व्यक्ति हङकङ डलर ६ हजारका दरले प्रदान गरेको थियो । सरकारको यस नीतिले हङकङ लगायत विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका पर्मानेन्ट रेसिडेन्ट लिइसकेका थुप्रै नेपाली पनि लाभान्वित हुनेछन् ।

जुन १५ तारिखदेखि कागजी दर्ताका लागि आवश्यक फारम वेबसाइट तथा बैंक, हुलाक लगायतका अन्य विभिन्न एक हजार भन्दाबढी स्थानबाट उपलब्ध हुँदै आएको छ । वित्त मन्त्री पाउल चानले अनलाइन प्रविधिबाट छिटो र छरितो हुने भएकाले सम्भव भएसम्म अनलाइन प्रयोग गर्न अनुरोध गरेका छन् । दर्ताको लागि अनलाइन फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू