शुक्रबार, चैत १६, २०८०
15:45 | २१:३०

नेपालले खेल्ने ‘स्कटल्याण्ड ट्राइ सिरिज’ स्थगित

रासस जुन १२, २०२०

फाइल तस्विर

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी जुलाइमा स्कटल्याण्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित भएको छ ।

कोरोना महामारीका कारण नेपाल, स्कटल्याण्ड र नामिबियासहितको नवौँ चरणको उक्त सिरिज स्थगन गरिएको स्कटल्याण्ड क्रिकेट बोर्डले जनाएको छ ।

उक्त सिरिज आइसीसीले जुलाई ४ देखि ११ तारिखसम्मका लागि तालिका सार्वजनिक गरेको थियो । आइसीसीसँगको छलफलपछि स्कटल्याण्ड क्रिकेट संघले  सिरिज स्थगन गर्ने निर्णय गरेको हो । सहभागी राष्ट्र र आइसीसीसँग सहकार्य गरी अर्को तालिका सार्वजनिक गरिनेछ । 

यसअघि अप्रिल २० देखि २७ तारिखसम्म नामिबियामा हुने तय भएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज तथा जुन ९ देखि १६ तारिखसम्म पपुवा न्यूगिनीमा हुने भनिएको नेपाल, युएई र पपुवा न्यूगिनीबीचको त्रिकोणात्मक सिरिजसमेत स्थगन गरिएको थियो । आइसीसी लिग–२ अन्तर्गत सात देशबीच प्रतिस्पर्धा भइरहेको छ । लिगमा नेपालले अहिलेसम्म चार खेल खेल्दै दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अंक जोडेर छैटौँ स्थान बनाएको छ । आइसीसी विश्वकप लिग–२ सन् २०२२ सम्म सञ्चालन हुनेछ । 

लिग–२ मा नेपालसहित अमेरिका, स्कटल्याण्ड, ओमान, युएई, नामिबिया र पपुवा न्यूगिनी छन् । प्रत्येक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउनेछन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । 

उक्त प्लेअफमा लिग–२ बाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपरलिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुईसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउनेछन् । नेपालले गत माघ तेस्रो साता घरेलु मैदानमा ओमान र अमेरिकासँग विश्वकप लिग–२ को पहिलो त्रिकोणात्मक सिरिज खेलको थियो । उक्त सिरिजमा नेपाल ओमानसँग दुवै  खेलमा पराजित भएको थियो भने अमेरिकासितको दुवै खेल जितेको थियो । नेपालले हालसम्म खेलेको चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अंक  बटुलेको छ । नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ ।

लिग दुईमा हालसम्म ओमान शीर्षस्थानमा छ । ओमानले खेलेको १० खेलमा आठमा जित तथा दुईमा हारसँगै १६ अंक बटुलेको छ । लिगको दोस्रो स्थानमा अमेरिका  छ । उसले १२ खेलमा छ मा जित तथा छ मा हारसँगै १२ अङ्क बनाएको छ । यस्तै स्कटल्याण्ड आठ खेलमा चारमा जित तथा तीनमा हारका तेस्रो स्थानमा छ ।

नामिबिया सात खेलमा चारमा जित तथा तीनमा हारका साथ चौथो स्थानमा छ । युएई सात खेलमा तीनमा जित तथा तीनमा हार व्यहोर्दै लिगको पाँचौँ स्थानमा छ । नेपाल चार अंक बटुल्दै छैटौँ स्थानमा छ भने पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित हुँदै अंकविहीन अवस्थामा छ ।

आइसीसी विश्वकप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । आइसीसी लिग दुई सन् २०१९ को अगस्टदेखि शुरु भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू