बिहीबार, वैशाख १३, २०८१
19:43 | ००:२८

लकडाउनले ७५ दिनदेखि पानीजहाजभित्रै बास

नेपाली लिङ्क जुन ५, २०२०
लन्डन । दुई महिना बिदामा नेपाल गएर परिवार, साथीभाइसंग रमाउने उनको योजना त्यतिबेला चकनाचुर भयो जब विमानस्थलका कर्मचारीले लकडाउन दर्शाएर फर्काइदिए । सिल्भरसी क्रुजेज्मा कार्यरत हर्क बोहोरा सिड्नीबाट उड्ने तरखरमा थिए गत २० मार्च बिहान । तर, मलेसियन एयरलाइन्सका कर्मचारीले लगेज जांचका क्रममा नेपालमा लकडाउन शुरु भइसकेकाले जहाज नजाने बताएर फर्कन भने । अन्य विकल्प थिएन्, फर्किएर हप्ता दिन सिड्नीस्थित होलिडे इन बसे हर्क । त्यतिबेला सिड्नी पनि लकडाउन र कोभिड १९ त्रासमा थियो । बाहिर घुमघाम, साथीभाइ भेटघाटको सम्भावना थिएन । उनी थप विचलित बने ।
‘क्रुजका साथीहरुसंग विदाइ भएर निस्किएको थिएं, विमानस्थलबाटै फर्कनु परयो’, हाल बेलायतको साउथहयाम्पटनस्थित बन्दरगाहमा 
फंसेका हर्कले सुनाए, ‘म त नेपाल जान नसक्ने भएं भनेर कम्पनीमा फेरि सम्पर्क गरें । उनीहरुले पर्थ आउनु २६ मार्चमा अर्को क्रुज जांदैछ भनेपछि एजेन्टमार्फत सिड्नीबाट पर्थ गएं ।’
पर्थबाट पानीजहाज चढ्ने बित्तिकै उनी १४ दिन आइसोलेसनमा बस्नुपर्ने भयो । कोरोना भाइरस 
संक्रमण भए फैलन सक्छ भनेर उनलाई एकजना चिकित्सकले नै छैटौं तलाको बन्द कोठामा लगेर छाडेका थिए । कतै छुन नमिल्ने, कतै निस्कन नमिल्ने । ‘एकजना डाक्टर र बटलर (खाना ख्वाउने) आउंथे नत्र अरुलाई प्रवेश अनुमति थिएन’, हर्कले सुनाए, ‘बाहिरबाट ढोका लक गरिदिएका थिए तर आपतकालिन अवस्थामा तोड्न मिल्ने खालको लक थियो ।’
पानीजहाजभित्र टिभी, वाइफाइ र खानेबस्ने, सुत्ने सानदार व्यवस्था थियो । तर होम सिक र कोरोना सन्त्रासले उनी तड्पिरहे । कहिले क्याप्टेन, कहिले एचआर र यदाकदा साथीभाईहरु सम्पर्क गर्दै दिन बित्थ्यो । बाल्कोनीसम्म पुग्यो फर्कयो ।
पर्थबाट १७ दिनमा दक्षिण अफ्रिकी शहर केप टाउन पुग्यो जहाज । ‘क्रुजमा रहेका १८० जना क्रु मेम्बरका लागि खानेकुरा किन्यौं । किनेका समान सबै स्यानिटाइज गरेर, ४८ घण्टा फ्रिजरमा राख्थ्यौं’, हर्क सम्झिन्छन् ।
केप टाउनबाट स्पेनको टेनेरिफ पुग्यो पानीजहाज । एउटै कम्पनीका ५ वटा जहाज त्यहीं आए । ति जहाजमा रहेकालाई एउटै जहाजमा राखियो र स्पेनबाट बेलायतको साउथहयाम्टन प्रस्थान गर्यो एउटा पानीजहाज ।
१० मेमा साउथहयाम्टन आइपुगेका हर्क र उनका नेपाली साथी सुजन सुवेदी नेपाल सरकारले कहिले विमान चार्टर गर्ला भनेर बाटो हेरिरहेका छन् । नेपाल जान पाउने भए कम्पनीले विमानस्थलसम्म छाडिदिने नत्र भित्रै बस्नुपर्ने वाध्यता उनको छ । आफ्नै कम्पनीको जहाजमा ट्रान्सफर हुन पनि नमिल्ने उनी बताउंछन् । दिनदिनै तापक्रम जांच्नुपर्छ ।
‘मार्च २० देखि बिना तलब बस्नु परेको छ । अझै कति लामो बस्नु पर्ने हो मानसिक तनाव भइसक्यो’, हर्कले भने, ‘७४ दिन भइसक्यो जहाजभित्र थुनिएको । सरकारले उद्धार गरे बरु लागेको पैसा खर्च र नियम पालना गर्न राजी छौं ।’
हर्क नेपाल छंदा डिपिएलबाट हस्पिटालिटी हेर्ने गर्दथे । उनी हस्पिटालिटी क्षेत्रमा लागेको ६ वर्ष बितेछ । उनले दोहा कतारमा ग्राण्ड हायात, चीनको ग्लोरी सी डायमण्ड क्रुजमा काम गरेपछि सिल्भरसी क्रुजेज्मा २२ सेप्टेम्बरमा फ्रान्सको बुर्डोबाट जागिर शुरु गरेका हुन् । करिब ९ महिनामा विश्वका ६० देशजति पानीजहाजमै यात्रा गरेको अनुभव उनीसंग छ । लन्डन, क्यानडा, अमेरिका, क्यारेबियन मुलुक वेष्ट इन्डिज, अन्टार्टिका, चिली, ब्राजिल, सिड्नी आदि पुगिसके ।
विभिन्न मुलुकका नयां ठाउं, नयां परिवेश हेर्न र भिन्न समुदायका मानिससंग भेटघाट, स्थानीय खाना, सपिङ गर्न पाइने हुंदा पानीजहाजभित्रको जागिर रमाइलो लाग्ने उनी बताउंछन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू