बुधबार, वैशाख १२, २०८१
10:02 | १४:४७

नेपालमा कोरोनाबाट छैठौं व्यक्तिको मृत्यु, एकैदिन १७० जनामा पुष्टि

संक्रमितको संख्या १ हजार २ सय १२

नेपाली लिङ्क मे २९, २०२०

काठमाडौं । नेपालमा कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले छैठौं व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन् ।

छैठौं मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिका निवासी पुरुष रहेको बताइएको छ । उनी भारतबाट जेठ १० गते नेपाल प्रवेश गर्ने क्रममा बाटोमै मृत्यु भएको थियो ।

मृतक युवकको शव सन्धिखर्कको गच्चे भन्ने स्थानमा गाडिएको थियो ।

भैरहवाको प्रयोगशालामा मृतकको स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१७० नयाँ सङ्क्रमित थपिए

यसैबीच, कोभिड–१९ को सङ्क्रमण शुक्रबार एकैदिन १७० जनामा पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १७० जनाका सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६५ पुरुष र पाँच जना महिला सङ्क्रमण भेटिएको जानकारी दिए ।

आज देखिएको सङ्क्रमितको सङ्ख्या हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि बिहीबार १५६ जनामा सङ्क्रमण देखिएको थियो । योसँगै कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार २१२ पुगेको छ । यसमा एक हजार १०३ पुरुष र १०९ जना महिला छन् ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा २७ जनामा सङ्क्रमण देखिएको हो । उनीहरुमा झापा कचनाकवल गाउँपालिकाका २४ जना १८–४१ वर्षसम्मका पुरुष र तराईभिट्टाका तीन जना २४–५४ वर्षका पुरुष छन् ।

यस्तै, धरान बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच सङ्क्रमित रहेका छन । सप्तरी राजविराजका २०–२६ वर्षका चार जना पुरुष र झापा भद्रपुरका ३४ वर्षका एक जना पुरुष रहेका छन् । यस्तै, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नौ जना पुरुष सङ्क्रमित भेटिएका छन् ।

बारा पचौताका चार जना २७–४५ वर्षका पुरुष हुन् । पर्सा पोखरियाका चार जना २१–४२ वर्षका पुरुष रहेका छन् । पर्सा जिराभवानीका एक जना ३४ वर्षका पुरुष हुन् । यस्तै, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा सर्लाहीका ३१ वर्षीया एक महिला भेटिएका छन् ।

यस्तै, गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका ३० वर्षका एक पुरुषमा सङ्क्रमण भेटिएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डुडुवा गाउँपालिकाका १० जनामा सङ्क्रमण देखिएको छ । ती १७–४१ उमेर समूहका हुन् ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा छ जना पुरुषमा सङ्क्रमण देखिएको छ । कपिलवस्तुका चार जना पुरुष २३–२६ वर्षका पुरुष हुन् । यस्तै दुई जना नवलपरासीका १९–२१ वर्षका पुरुष छन् ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा सङ्क्रमण देखिएको छ । धनुषा खजुरीका ५० वर्षीया एक महिलामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका कपिलवस्तु यशोधराका २३ जना ७–५२ वर्ष उमेर समूह हुन् र उनीहरु सबै पुरुष हुन् ।

रौतहट राजपुरका ५६ जना २२–७० वर्षसम्मका रहेका छन् । तीमध्ये ५४ पुरुष हुन् र दुई जना चार महिनासहितका बालिका छन् । यस्तै, सर्लाही कौदेना मलङ्गवाका चार जना १९–३० वर्षका तीन पुरुष र एक महिला रहेका छन् । भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ ।

तीमध्ये कपिलवस्तुका १५ जना १७–४४ वर्ष उमेर समूहका पुरुष हुन् । यस्तै, रुपन्देही सैनामैनाका २७ वर्षीय एक पुरुष रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा सङ्क्रमण देखिएको छ ।

दाङ गढवा गाउँपालिकाका दुई जना २८ देखि ४१ वर्षका पुरुष रहेका छन् । यस्तै कपिलवस्तु विजयनगरका नौ जना १७–५२ वर्षका पुरुष हुन् । अहिलेसम्म २०६ जना निको भई घर फर्केका छन् । यस्तै, पिसिआर ६४ हजार १५४ र आरडिटी एक लाख पाँच हजार ४८७ जनामा गरिसकिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू