मंगलबार, वैशाख ११, २०८१
12:57 | १७:४२

रुकुम घटना: पाँचको शव भेटियो, एक अझै बेपत्ता

नेपाली लिङ्क मे २८, २०२०

जाजरकोट । रुकुम घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ ।

योसँगै पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । बुधबारमात्र लोकेन्द्र सुनारको शव फेला परेको थियो । गत १० जेठमा भएको घटनामा भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् । भेरी नगरपालिका-४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ ।

हिउँ पग्लिएर भेरी नदी धमिलो भएकाले पानीभित्र बेपत्ता भएकाको शव खोज्न कठिन भएको गोताखोरले जनाएको छ । अन्तरजातीय प्रेमका कारण जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा हराइरहेकाहरुको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको थियो ।

घटना भएको पाँच दिनसम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुबेको आशंकामा सशस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको थियो । तर, नदी धमिलो भएकाले पानीभित्र हेर्न नसकिएको र शंकास्पद स्थानमा छामेर खोज्नुपरेको सशस्त्र प्रहरीका प्रमुख बस्नेतले बताए ।

हराएकाको खोजी कार्यमा स्थानीय वासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान दैनिकजसो संलग्न रहे पनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । बेपत्ताहरु नदीमा डुबेको हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू