शुक्रबार, वैशाख १४, २०८१
18:27 | २३:१२

जन्मदिनमा विपन्न चेपाङका लागि २४ सय पाउण्डको सहयोग

नेपाली लिङ्क मे २५, २०२०

लण्डन । सामाजिक क्षेत्रमा क्रियाशिल बेलायतस्थित युवा व्यवसायी विष्णु खरेलले आफ्नो जन्मदिनको अवसरमा गृहजिल्ला चितवनको चेपाङ समुदायका लागि सहयोग जुटाएका छन् ।

महामारीको बेला थप संकटमा परेका विपन्न चेपाङहरुको लागि खरेलले २४ सय २४ पाउण्ड संकलन गरेका छन् ।

आउँदो साता पर्ने आफ्नो जन्मदिनको अवसरमा खरेलले बेलायतको ग्रेसटस्थित आफ्नो ‘बेलिफ रेष्टुरेन्ट’ मा सोमबार ‘टेक अवे च्यारिटी’ आयोजना गरेका थिए ।

दिनभरको व्यवसायबाट जम्मा भएको सबै १८ सय १ पाउण्ड खरेलले सहयोग प्रदान गर्न लागेका छन् । यसअघि फेसबुकमा ‘जस्ट गिभिङ’ मार्फत पनि उनले ६ सय  २३ पाउण्ड जुटाएका छन् ।

दुवै माध्यमबाट संकलित कुल २४ सय २४ पाउण्डको कोषबाट चितवनको चेपाङ समुदायका साथै धादिङका केहि विपन्न परिवार समेत गरी कुल ५० परिवारलाई सहयोग गर्ने खरेलको योजना छ ।

‘शुरुमा २५ परिवारलाई सहयोग गर्ने सोच थियो । अपेक्षाभन्दा बढी रकम जुटेको छ । अब ५० परिवारलाई सहयोग गर्न सकिने भएको छ’, खरेलले नेपाली लिंकसंग भने । आफ्नो जन्मदिनभन्दा एक दिनअघि जुन १ तारिखका दिन नेपालमा सहयोग वितरण गरिने उनले बताएका छन् ।

बेलायतमा रेष्टुरेन्ट व्यवसायका साथै इमिग्रेसन एड्भाइजरका रुपमा समेत काम गर्दै आएका खरेल पछिल्लो समय सामाजिक क्षेत्रमा पनि निकै सक्रिय छन् । आफ्नो रेष्टुरेन्टमा च्यारिटी गरी सहयोग जुटाउने उनले कार्यक्रमको सम्पूर्ण खर्च आफूले व्यहोरेर संकलित सबै रकम सहयोग गर्दै आएको बताउँछन् ।

केहि महिनाअघि मात्रै छोरीको जन्मदिनमा विपन्न परिवारका तीन विद्यार्थीलाई वर्षभरको अध्ययनका लागि ५० हजार रुपियाको सहयोग गरेका उनले छोराको जन्मदिनमा क्याट यूकेको लागि १६ सय ९० पाउण्डको कोष जुटाइदिएका थिए ।

बुद्ध फाउण्डेसन यूकेका लागि समेत खरेलले दुईपटक गरी कुल साढे १३ सय पाउण्ड सहयोग गरेका थिए । गत अप्रिल १३ मा उनले कोभिड १९ विरुद्ध अग्रमोर्चामा खटिएका ८० एनएचएस स्टाफलाई हौसलास्वरुप निशुल्क खाना प्रदान गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू