शुक्रबार, चैत १६, २०८०
07:15 | १३:००

कोरोना संक्रमितको शव जलाएको नौ दिनपछि विद्युतीय शवदाह गृह सञ्चालनमा

रासस मे २४, २०२०

काठमाडौँ । कोरोनाको संक्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ । 

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी मृतक महिलाको जेठ ३ गते शनिबार राति सो शवदाह गृहमा दाह संस्कार गरिएको थियो ।

विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको थियो  यन्त्र चलाउने सबै प्राविधिक कर्मचारी महिलाको शवदाहमा संलग्न भएपछि सबैको ‘पिसिआर’ विधिबाट परीक्षण गरिएको थियो ।

परीक्षण प्रतिवेदन ‘नेगेटिभ’ आएपछि शवदाह गृह सञ्चालनमा ल्याउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । शवदाह गृह चलाउनको लागि तताउन शुरु गरिसकिएको पनि उनले  बताए 

विद्युतीय यन्त्र चलाउने प्राविधिक पर्याप्तमात्रामा भएको भए ३६ घण्टापछि नै सञ्चालनमा ल्याउन सकिने बताइएको छ । सुरक्षाका कारण कोरोना संक्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ ।  

कोरोना संक्रमितको  शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने प्राविधिक कर्मचारीको अभाव हुन सक्ने देखिएको छ । जम्मा ६ जना कर्मचारीले हाल तालिम लिएर यन्त्र चलाउँदै आएका छन् ।

कोरोना प्रमाणित भएकाको शव जलाएपछि प्राविधिकको ‘पिसिआर’ परीक्षण गर्नुपर्छ । कर्मचारीलाई कोरोना ‘पोजेटिभ’ देखिए गृह चलाउन दिइँदैन । अरु कर्मचारीलाई तालिम दिन तीन महिना लाग्छ । 

नेपाली सेनाले सुरक्षितरुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालिम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन् । जनशक्ति व्यवस्थापनका विषयमा पूर्व तयारी नभएकाले समस्या पर्न सक्ने जनाइएको छ । 

सरसफाइका लागि एक हप्तासम्म बन्द रहेको पशुपतिको क्रियापुत्री घर पनि आइतबारदेखि सञ्चालमा आएको कार्यकारी निर्देशक खतिवडाले बताए । १३ दिनसम्म क्रियापुत्री बसिसकेपछि सफाइका लागि क्रियापुत्री घर केही समय बन्द गरेर सरसफाइ गरी पुनः सञ्चालन गर्ने गरिएको छ ।

क्रियापुत्री घरमा आवतजावत गर्नेमा कोरोनाको संक्रमण नफैलियोस् भनी सजगता अपनाइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा काजक्रिया गर्न चाहनेका लागि ४० कोठाको व्यवस्था गरिएको छ । पशुपतिमा सबै सुविधा हुने भएकाले मानिसको रोजाइमा यहाँको क्रियापुत्री घर पर्ने गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू