बिहीबार, मंसिर २०, २०८१
15:53 | २१:३८

द्वन्द्वकालमा हत्या गरिएका युवकको १८ वर्षपछि अन्तिम संस्कार

रासस मे २१, २०२०

गुलरिया । द्वन्द्वको समयमा राज्य पक्षबाट हत्या गरिएका बर्दिया, राजापुर नगरपालिका-५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि अन्तिम संस्कार भएको छ । पीडित परिवारले बुधबार थारु संस्कारअनुसार सद्गत गरेको हो ।

द्वन्द्वको समयमा हत्या भए पनि आफ्नै आँखाले शव नदेखेका कारण १८ वर्षसम्म अन्तिम संस्कार नगरिएको अनिलकी आमा लहियाले बताइन् । हत्या भएको भन्ने अरुबाट सुनेको र शव नदेखेका कारण जिउँदै छ कि भन्ने आशाले अहिलेसम्म बसिरहे पनि अब आशा मरेकाले अन्तिम संस्कार गरिएको अनिलका बुवा विक्रमबहादुरले बताए ।

अनिलकुमारलाई माओवादी कार्यकर्ता भएको भन्दै राज्य पक्षले २०५९ पुस १४ गते राजापुर नगरपालिका -१० कालाबञ्जर गाउँबाट लखेट्दै आनन्दनगरमा पुर्याएर कब्जामा लिएर गोली हानी शव सोही ठाउँमा गाडेको थियो ।

जिल्लामा सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका केही व्यक्तिका परिवारले कानूनी समस्याका कारण पनि अन्तिम संस्कार गरेको द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले बताए ।

द्वन्द्वपीडितले सत्यतथ्य पत्ता लगाउन माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजूरी दिए पनि आयोगले समयमा काम गर्न नसक्दा अलमल भएको उनको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू