शुक्रबार, वैशाख ७, २०८१
08:23 | १३:०८

भारतले लखेटेका नेपालीको दशगजामै बास

रासस मे ९, २०२०

फाइल तस्विर

नेपालगन्ज । भारतमा कोरोना संक्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिएपनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार बाँकेको नरैनापुर फर्किए ।

भारत श्रावस्ती जिल्ला भिन्गास्थित ‘क्वारेन्टाइन’ ले उनीहरुलाई राख्न नमानेपछि भारतीय प्रहरीले नरैनापुर गाउँपालिका-१ सुइँया नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गरायो ।

‘मजदूर फर्किएको सूचना प्राप्त हुनेबित्तिकै नरैनापुर गाउँपालिकाले उनीहरुलाई आदर्श मावि लक्ष्मणपुरमा रहेको क्वारेन्टाइनमा राखेको थियो’, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘तर सशस्त्र प्रहरीले २१ जनालाई लगेर दशगजामा राखेको छ ।’ 

भारतमा रोजगारी गरी घर फर्कने मजदूरको अवैध प्रवेशका कारण भारतसँग सीमा जोडिएको नरैनापुरमा कोरोना संक्रमणको जोखिम उच्च रहेको अध्यक्ष शाहले बताए । 

भारतबाट आएर दशगजाबाट लुकीछिपी आफ्नो गाउँघर पुग्न खोज्ने युवालाई प्रहरीले दशगजामै रोक्ने गरेको छ । कामदारका परिवारले उनीहरुलाई क्वारेन्टाइनमा राख्न अनुरोध गरे पनि आफूहरुलाई नेपाल भित्रिन नदिने निर्देशन भएकै कारण ‘क्वारेन्टाइन’ मा राख्न नमिल्ने सशस्त्र प्रहरी बल गंगापुरका इन्चार्ज वीरेन्द्रबहादुर जिसी बताउंछन् ।  

‘नेपाल प्रवेश गर्न नदिने निर्देशन विपरीत लुकीछिपी प्रवेश गरेको पाइएकोले उनीहरुलाई क्वारेन्टाइनमा राख्न मिलेन । हामीलाई प्रवेश गर्न नदिने निर्देशन छ’, इन्चार्ज जिसीले भने, ‘प्रवेश गर्न नदिने भनेपछि क्वारेन्टाइनमा राख्न दिने प्रश्न नै आउँदैन । यद्यपि यसअघिदेखि नै नरैनापुर गाउँपालिकाले भारतबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्दै आएको छ ।’

भारतले उता बस्न नदिने र नेपालले  दशगजाभित्र पस्न नदिने गरेकाले नेपाली पीडित बनेको नेपाली काँग्रेस क्षेत्र नं १ का नेता रामचन्द्र मौर्यको भनाइ छ । उनले भने, ‘गाउँ फर्किनेहरु नेपाली नागरिक भएकाले उनीहरुको व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्छ, पन्छिन मिल्दैन ।’ 

प्रदेश नं ५ सरकारले मंगलबार नै एक सूचना जारी गरी सबै स्थानीय तहमा भारतबाट आउने कामदारलाई लक्ष्य गरेर उनीहरुको व्यवस्थापनका लागि थप ‘क्वारेन्टाइन’ निर्माण गर्न निर्देशनसमेत दिएको छ ।  ‘केन्द्र सरकारले कुनै पनि व्यक्ति प्रवेश गर्न नपाउने सूचना जारी गरेको छ, यो आपसमा विवादास्पद देखियो’, गाउँपालिकाका अध्यक्ष शाहले भने , ‘हामी व्यवस्थापनका लागि तयार छौं    तर प्रहरीले सीमाबाट प्रवेश गर्न दिँदैन ।’ 

सीमा क्षेत्रमा अहिले पनि १ सय  भन्दा बढी कामदार अलपत्र अवस्थामा छन् । बुधबार राति नरैनापुर-५ का तीन कामदार पसेको सूचना आएपछि उनीहरुलाई प्रहरीले फेरि भारततर्फ फिर्ता पठाएको छ ।  

‘भारतले दशगजासम्म आउन दिने तर नेपाल प्रहरीले नेपाल प्रवेशमा रोक लगाउनुहुँदैन’, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भने ।  

गतसाता नै नरैनापुर क्षेत्रबाट ५६  धर्मगुरुको स्वाब संकलन गरी जाँच गरिएकामा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।  भारतबाट आउने कामदारका कारण जोखिम हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले बताए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू