बिहीबार, कार्तिक १३, २०७७
09:56 | १५:४१

बहराइनमा २ सय ४५ नेपालीमा संक्रमण

रासस मे ६, २०२०


काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २ सय ४५ नेपालीमा ‘कोभिड-१९’ को संक्रमण पुष्टि भएको छ ।

मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ थियो ।

दूतावासका अनुसार मंगलबारसम्म बहराइनमा एक हजार ९५० मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमणबाट उपचार प्राप्त गरी डिस्चार्ज हुनेको संख्या पनि एक हजार ७६२ पुगेको छ ।

बहराइनमा कोरोना संक्रमणबाट आठ जनाको मात्र ज्यान गएको छ । बहराइनले हालसम्म एक लाख ५५ हजार ५ सय १ जनामा कोरोना परीक्षण गरेको छ ।

ठूलो संख्यामा नेपालीमा कोरोना संक्रमण देखिएपछि दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउन सबैलाई आग्रह गरेको छ । कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

बहराइनमा रहेका नेपालीले भोग्दै आएको समस्या समाधान गर्न दूतावासले अनलाइन फारम भर्ने व्यवस्था गरेको छ । दूतावासले फाराममा उल्लेखित विवरण भरेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरेको छ ।

बहराइनले अवैधरुपमा बसोवास गर्दै आएका आप्रवासीका लागि वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० सम्म आममाफी दिएको छ । संक्रमण नियन्त्रण नहुँदासम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको भन्दै दूतावासले बहराइन सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न पनि नेपालीलाई सचेत गराएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू