शुक्रबार, चैत १६, २०८०
15:35 | २१:२०

‘लकडाउन’पछि बेलायतका कार्यस्थलमा कस्ता नियम आउँदैछन् ?

नेपाली लिङ्क मे ४, २०२०

लन्डन ।  कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासमा बेलायतमा पछिल्लो डेढ महिनादेखि ‘लकडाउन’ कायम छ ।

‘लकडाउन’ लाई कसरी खुकुलो पार्दै जाने भन्नेबारे सरकारको विस्तृत योजना आउँदो आइतबार प्रधानमन्त्री बोरिस जोन्सनले  सार्वजनिक गर्दैछन् ।

‘लकडाउन’ लाई क्रमिक रुपमा विभिन्न चरणमा खुकुलो पार्दै जाने रणनीतिअनुसार अहिले सरकारले तयारी गरिरहेको छ ।

सरकारले तयारी गरिरहेको सोहि योजनाको एक ‘ड्राफ्ट’ बीबीसीले फेला पारेको जनाएको छ ।

उक्त योजनामा लकडाउनपछि विभिन्न ‘वर्क प्लेस’ (कार्यस्थल) हरुमा कसरी आवश्यक सतर्कता र सुरक्षा अपनाउने भन्ने बारेमा उल्लेख गरिएको छ ।

कार्यस्थलमा सहकर्मीहरुबीच निश्चित दूरी कायम गर्ने, सेवाग्राहीसँग सिधा र नजिकबाट सम्पर्क हुने खालका डेस्क हटाउने, आवश्यक दूरी ‘मेन्टेन’ गर्न सम्भव नहुने अवस्थामा स्टाफको लागि ‘पीपीई’ को प्रबन्ध गर्ने जस्ता योजना उक्त ड्राफ्टमा समावेश छन् ।

त्यस्तै, कार्यस्थलमा स्टाफ र सेवाग्राही दुवैको लागि आवश्यक ‘स्यानिटाइजर‘ उपलब्ध गराउने, सुपरमार्केटहरुमा जस्तै   सेवाग्राहीहरुबीच निश्चित दूरी कायम गराउने पनि योजनामा  छ ।

सरकारले सार्वजनिक यातायातमा भीड नलागोस् भन्ने उद्देश्यले कम्पनीहरुलाई आफ्ना स्टाफको काम शुरु हुने र सकिने समय विभिन्न समूहमा बाँडेर फरक-फरक पार्न पनि आव्हान गरेको छ । 

त्यस्तै, ट्रेन, बसहरुमा एकैपटक धेरै मानिसको भीड हुन नदिन थप ट्रेन र बसहरु संचालन गर्ने पनि सरकारको योजना छ ।

सरकारका यी योजना अहिले पनि तयारीकै क्रममा छन् । यसक्रममा सरकारले  ठूला-ठूला बिजनेस कम्पनी, चेम्बर अफ कमर्स, कर्मचारी  युनियनहरुसंग आवश्यक परामर्श  लिंदै गरेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू