शुक्रबार, चैत १६, २०८०
10:02 | १५:४७

नेपालमा एकैदिन १६ संक्रमित भेटिए, नेपालगञ्जमै १५

नेपालमा संक्रमितको कुल संख्या ७५

रासस मे ३, २०२०

काठमाडौं । नेपालमा आइतबार एकै दिन १६ जा संक्रमित बढेका छन् । आइतबार नेपालगञ्जमा १५ र वीरगञ्जमा १ जनामा कोरोना संक्रमण भेटिएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७५ पुगेको छ ।

आइतबार नेपालगञ्जमा शुरुमा ९ र पछि ६ जना संक्रमित भेटिएका हुन् । स्थानीय भेरी अस्पतालको ‘आरटीपिसिआर’ यन्त्रमा परीक्षणको क्रममा साँझ थप ६ जनामा कोरोना ‘पोजेटिभ’ फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना ‘फोकल पर्सन’ नरेश श्रेष्ठले जानकारी दिए ।

यसअघि आइतबार नै अपराह्न ९ जनामा कोरोना संक्रमण देखिएको थियो । भेरीको कोरोना प्रयोगशालामा निरन्तर परीक्षण भइरहेको छ ।

शनिबार सङ्कलित ९० र आइतबार संकलित चार गरी ९४ स्वाबको परीक्षण भइरहेको श्रेष्ठले बताए । ‘अहिलेसम्म कति परीक्षण भयो भन्ने ठ्याक्कै यकिन भएन, अहिलेसम्म थप ६ जनामा पोजेटिभ भेटिएको छ’, उनले भने,’निरन्तर परीक्षण भइरहेको छ, मन्त्रालयले पुष्टि गर्दै जाने छ ।’

उनका अनुसार अहिले भेटिएका नयाँ संक्रमित पनि नेपालगञ्ज–८ स्थित जोल्हनपूर्वा आसपासकै भएको अनुमान छ । यससँगै नेपालगञ्जमा एकै दिन कोरोना पोजेटिभको संख्या १५ पुगेको छ । यसअघि एक जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालगञ्जमा आइतबार फेला परेका नयाँ कोरोना संक्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट संक्रमित भएको पाइएको छ । नयाँ संक्रमित सबै पहिलो पटक संक्रमण देखिएका नेपालगञ्ज–८ डिएसपी रोडका ६० वर्षीयको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका बासिन्दा भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

पहिलो संक्रमित व्यक्तिले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउनेक्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ । फेला परेका संक्रमित सातदेखि ५८ वर्ष उमेरका छन् । उनीहरु कसैमा पनि कोरोनाको लक्षण नदेखिए पनि कोरोना संक्रमण भएको थियो ।

‘फोकल पर्सन’ श्रेष्ठका अनुसार पहिलो संक्रमितको सम्पर्कमा आएका ९० जनाको शनिबार स्वाब संकलन गरिएकामा ३० को नमूना परीक्षण गर्दा १५ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको हो । उनीहरुलाई उपचारका लागि खजुरास्थित ‘आइसोलेशन’  अस्पतालमा पठाइएको छ । नब्बेमध्ये अझै ५४ जनाको रिपोर्ट आउन बाँकी रहेकाले संक्रमितको संख्या थप हुन सक्ने बताइएको छ ।

कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिमा कोरोना ‘पोजेटिभ’ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले बताए । उनले कोरोना भाइरस जोसुकैमा पनि संक्रमण हुने भएकाले घरबाट बाहिर निस्कन नहुनेमा जोड दिए ।

नेपालगञ्जस्थित मस्जिद तथा मन्दिरमा केही दिनअघि धर्मगुरुहरुको स्वाब परीक्षणका क्रममा पहिलो पटक नेपालगञ्जका ६० वर्षीय व्यक्तिमा शुक्रबार कोरोना संक्रमण फेला परेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू