शुक्रबार, चैत १६, २०८०
10:57 | १६:४२

कोभिड १९ ले मुटुलाई पार्छ नोक्सान

विकलचन्द्र आचार्य मे १, २०२०

विकलचन्द्र आचार्य

चीनको जेजियाङ युनिभर्सिटीका बैज्ञानिकहरुले नयां कोरोना भाइरसले ३० वटा भन्दा बढी जिनमा परिवर्तन आएको (म्युटेसन) पत्ता लगाएका छन् । यसले गर्दा विश्वका केहि ठाउंमा कोरोना भाइरस बढी आक्रामक रुपले आएको बुझ्न सहयोग गर्छ । कोभिड १९ सम्बन्धि अरु धेरै अनुसन्धान हुन बांकी नै छ । यसैले यस भाइरसबारे नयां तथ्यहरु आउने क्रम जारी छ ।

कोभिड १९ ले मूलतः श्वासप्रश्वासको समस्या ल्याउने भनिएपनि करिब २० प्रतिशत बिरामीमा मुटुको नोक्सानी देखिएको छ । यसले मुटुरोग विशेषज्ञहरु अचम्मित परेका छन् । फोक्सोको नोक्सानी साथै कोभिड १९ बिरामीहरु मुटुरोगको विकास भइ ह्दयाघात या कार्डिक यारेष्ट भएर ज्यान समेत गुमाइरहेका छन् ।

कार्डियाक यारेष्ट हुंदा मुटुको विद्युतीय गतिविधि यति अस्तव्यस्त हुन्छ कि मुटुले पम्प गर्न छोड्दछ । यदि व्यक्तिलाई कार्डियाक यारेष्ट भएको छ भने उसले होस एकैचोटी गुमाउंदछ । बांचेको जस्तो कुनै लक्षण देखिंदैन् । यो चाहिं अत्यन्त जरुरी इमर्जेन्सीको अवस्था हो । कसैले सिपिआर (Cardiopulmouary resusciatation) तीन-चार मिनेटभित्र नगरे निज व्यक्तिको दिमाग र अरू अंगहरू सदाका लागि नोक्सान हुन्छ ।

कोभिड १९ ले मुटुको मांसपेशीहरुमा संक्रमण गर्न सक्ने तथ्य
इटाली, चीन तथा वासिङटन र न्यूयोर्कको तथ्यांक अनुसार कोभिड १९ ले मुटुको मांसपेशीहरुमा संक्रमण गर्नसक्ने तथ्य रहेको मुटुरोग विशेषज्ञहरु विश्वास गर्न थालेका छन् । प्रारम्भिक अध्ययन अनुसार पांच जनामध्ये एक जना बिरामीको ह्दय (कार्डिक) नोक्सान भएको देखिएको छ । यसका कारण श्वासप्रश्वास समस्या नभइकन ‘हार्ट फेलियर’ तथा मृत्यु हुने गरेको छ । ‘हार्ट फेलियर’ भनेको शरीरको आवश्यकता अनुरुप पर्याप्त मात्रामा मुटुले रगत पम्प गर्न नसक्नु हो । यसले गर्दा दीर्घ मुटुरोगीहरुको कोभिड १९ को शुरुवातको उपचारको तरिकामा फरक आउने छ ।

कोभिड १९ ले यी बिरामीहरुको मुटुलाई प्रभाव पारिरहेको छ कि छैन् र यसको उपचारमा के गर्न सकिन्छ भन्ने नै प्रमुख प्रश्न छ । अनुसन्धानबाट यी प्रश्नको जवाफ आए पछि धेरैको जीवन बंच्ने आशा गरिएको छ ।

शरीरको आफनै प्रतिरक्षा प्रणालीको प्रतिक्रियाले मुटुको यस्तो समस्या आएको हो कि, कोभिड १९ को सिधा कारणबाट हो भन्ने एकिन अहिलेसम्म भएको छैन् । मुटुरोग विशेषज्ञहरु यस प्रश्नको अनुसन्धानमा लागेका छन् । भाइरसले मुटुलाई कसरी असर गर्छ भनेर पत्ता लगाउनु सजिलो कुरा होइन् । सिकिस्त बिरामीका कारण मुटुलाई प्रभाव पार्न सक्छ । निमोनियाले मृत्यु भएको मानिसको अन्त्यमा शरीरमा अक्सिजन पर्याप्त नपुगेर मुटु बन्द भएर नै हुन्छ । तर कोभिड १९ को संक्रमणले चार पांच किसिमबाट मुटुलाई नोक्सान पार्ने कुरा विश्वास गरिएको छ ।

कुनै जटिल अपरेसन गरेको बेलामा शरीरको आन्तरिक चिन्ताले मुटुलाई नोक्सान गरेको कुरा डाक्टरलाई थाहा छ । निमोनिया भएको बेलामा शरीरको विभिन्न अंग फुलिने वा सुन्निने गर्छ । मुटुको मांसपेशीलाई पनि असर गरि ह्दयाघात तथा हार्ट फेलियर हुन सक्छ । यस्तो अवस्थालाई ‘मायोकार्डिटिस’ भनिन्छ । कोभिड १९ को बिरामीको मुटुको मांसपेशी सिधै संक्रमित भएको पाइएको छ ।

गत मार्च महिनामा चीनमा प्रकाशित दुईवटा अध्ययनले कोभिड १९ बिरामीमा मुटुरोगबारे देखाइएको थियो । यसमा ४१६ जना अस्पतालमा भर्ना भएका बिरामीको अनुसन्धान गरिएको थियो । यसमा १९ प्रतिशत बिरामीमा मुटु नोक्सान भएको पाइएको छ । मुटु नोक्सान भएको बिरामीमध्ये ५१ प्रतिशतको मृत्य भएको छ भने मुटु नोक्सान नभएकामध्ये ४ दशमलब ५ प्रतिशतको मात्र मृत्यु भएको तथ्यांक छ ।

जुन मुटुरोगको दीर्घ बिरामी भएकाहरुको कोभिड १९ को संक्रमण पछि मुटु नोक्सान भएको पाइएको थियो । तर केहि बिरामीको कुनै दीर्घ मुटुरोग बिना नै ह्दय नोक्सान भएको लक्षण देखिएको थियो । बास्तबमा जो मुटुको दीर्घरोगीहरु छन्, कोभिड १९ को संक्रमणले उनीहरुको मृत्युदर निकै बढी देखिएको छ । कस्तो मानिसमा ह्दय नोक्सान हुन्छ भन्नेबारे यकिन तवरले थाह भएको छैन् । यहि जोखिमका कारणले गर्दा दीर्घ मुटुरोगीहरुले कोभिड १९ को लागि विशेष सावधानी अपनाउनु पर्ने भएको हो ।

बेलायतमा सबैभन्दा बढी मृत्यु हुने डिमेन्सिया, मोटोपन र मुटुरोगी
बेलायतमा करिब १७ हजार अस्पतालमा भर्ना गरिएका कोभिड १९ बिरामीहरुको बारेमा अध्ययन भएको छ । जस अनुसार भर्ना गरिएका ३३ प्रतिशतको मृत्यु भएको देखिएको छ । भर्ना भएका मध्ये ५३ प्रतिशत दीर्घरोगी रहेका र क्रोनिक 
मुटुरोगका २९ प्रतिशत बिरामी छन् ।

यसमा डिमेन्सिया भएका बिरामीको मर्ने जोखिम ३९ प्रतिशत, धेरै मोटो भएकाको ३७ प्रतिशत, मुटुरोगको ३१ प्रतिशत छ । यसबाट के बुझ्न सकिन्छ भने फोक्सो, मुटु, मृगौला रोग भएका दीर्घरोगीका साथै धेरै मोटो (बियामआइ ३० भन्दा ) मानिसमा कोभिड १९ ले थप जटिल बनाउने जोखिम अति उच्च प्रष्ट देखिन्छ । मोटो मानिसको फोक्सोले कम काम गर्ने र बोसोले गर्दा तन्तुहरु फुल्ने या सुनिने गर्दा कोभिड १९ को जोखिम बढी रहेको अनुसन्धानकर्ताहरुले जनाएका छन् । दीर्घ मुटुरोगी भनेको ह्दयाघात, कोरोनरी बाइपास, मुटु भल्भ रोग, हार्ट फेलियर, उच्च रक्तचाप, मधुमेह जस्ता रोग लागेको व्यक्तिलाई भनिन्छ ।

दीर्घरोगीहरुलाई कोभिड १९ ले थप जटिल बनाउने जोखिम बढी रहे पनि कुनै रोग नभएको व्यक्तिहरु पनि पीडित भइ ज्यान समेत गुमाइरहेको समाचार आइरहेको छ । त्यसैले यस महामारीको संक्रमणबाट बच्न सामाजिक दुरी कायम राख्ने, व्यक्तिगत हाइजिनमा ध्यान दिने तथा सरकारले दिएको सल्लाह सुझाव सधैं आत्मसात गर्नुपर्छ । चिन्ता ब्यवस्थापन गरि शारीरिक क्रियाकलाप जारी राखी स्वस्थ्यकर जीवनशैली हर समय अवलम्बन गर्नुपर्छ । उपचार तथा खोपको विकास नहुन्जेलसम्म सबैले सामाजिक दुरी राख्नुपर्ने आवश्यकता छ ।

(लेखक आचार्य ‘कोरोनरी मुटुरोग’ २०१० पुस्तकका लेखक तथा ब्रिटिस मेडिकल जर्नालिष्ट एशोसिएसनका सदस्य हुन् )

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू