शुक्रबार, चैत १६, २०८०
08:19 | १४:०४

यूकेमा महामारीको ‘पीक पोइन्ट’ पार, दोस्रो ‘पीक’को जोखिम बाँकी

नयाँ केस, मृत्यु हुने र अस्पताल भर्ना हुने घट्दै

नेपाली लिङ्क अप्रिल ३०, २०२०

एक महिनअघि कोरोना संक्रमित भएयता पहिलोपटक विहीबार सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री जोन्सन ।

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना महामारीको उत्कर्ष विन्दु (पीक पोइन्ट) पार भइसकेको बताएका छन् ।

भाइरस संक्रमणको ‘ट्रेण्ड’ अब ओरालो लागेपनि ‘लकडाउन’ र ‘सोसल डिस्टेन्सिङ’ को नियम हटाउने बेला भने आइनसकेको उनले स्पष्ट पारेका छन् ।

एक महिनाअघि कोरोना संक्रमित भएयता पहिलोपटक विहीबार सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ लाई सम्बोधन गर्न आएका प्रधानमन्त्रीले सरकार दोस्रो ‘पीक पोइन्ट’ को जोखिम मोल्न तयार नरहेको दोहोरयाए ।

कोरोनाविरुद्धको लडाईंमा बेलायतले हालसम्म अवलम्बन गरेका उपायहरुले काम गरिरहेको भन्दै उनले दोस्रो ‘पीक पोइन्ट’ को खतरा टार्न अझै पनि निरन्तर प्रयास आवश्यक रहेको बताए ।

‘लकडाउन’ कहिले र कसरी हट्छ भन्ने प्रश्नमा यसअघि सरकारले तय गरेका पाँच आधार तयार हुन अनिवार्य रहेको प्रधानमन्त्री जोन्सनको भनाइ थियो ।

‘लकडाउन’ बाट सामान्य जीवनतर्फ फर्किने सरकारको रणनीतिबारे आउँदो साता विस्तृत योजना सार्वजनिक गरिने उनले जानकारी गराए ।

बेलायत सरकारका ‘चिफ साइन्टिफिक एड्भाइजर’ सर प्याट्रिक भ्यालेन्सले पनि बेलायतमा नयाँ संक्रमण, मृत्यु हुनेको संख्या र अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या सबै घट्न थालेको बताए । तर, अझै पनि पहिलाजत्तिकै सावधानी र सतर्कता अपरिहार्य रहेको उनको भनाइ थियो ।

दैनिक परीक्षण क्षमता लक्ष्यनजिक

यसैबीच, अप्रिल अन्त्यसम्ममा दैनिक १ लाख परीक्षणको क्षमता बनाउने लक्ष्यमा बेलायत सरकार नजिक देखिएको छ ।

प्रधानमन्त्री जोन्सनले बुधबार मात्रै ८१ हजार ६ सय ११ परीक्षण गराइएको जानकारी गराए । जुन संख्या अघिल्लो दिनको तुलनामा झण्डै ३० हजारले बढी हो ।

केहि दिनअघिसम्म दैनिक २० हजारको हाराहारीमा परीक्षण भइरहेकोमा पछिल्लो केहि दिनमै सरकारले परीक्षण क्षमता उल्लेखनीय रुपमा बढाएको हो ।

प्रधानमन्त्री जोन्सनले बेलायतमा कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या २६ हजार ७ सय ७१ पुगेको पुष्टी गरे । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ६ सय ७४ छ । जुन संख्या अस्पताल, ‘केयर होम’ लगायतका सबै ठाउँमा मृत्यु हुनेको हो ।

त्यस्तै, बेलायतमा संक्रमितको संख्या १ लाख ७१ हजार २ सय ५३ पुगेको छ । जुन संख्या पछिल्लो २४ घण्टामा ६ हजार भन्दा बढीले वृद्धि भएको छ ।

अहिले अस्पतालमा रहनेहरुको संख्या १५ हजार ४० छ । यो संख्या अघिल्लो दिनभन्दा ३ सयले थोरै हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू