सोमबार, मंसिर २४, २०८१
05:02 | १०:४७

संकटका बेला पार्टीगत स्वार्थभन्दा माथि उठौं : महामन्त्री डा कोइराला

रासस अप्रिल ३०, २०२०

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले कोरोना भाइरसका कारण सिर्जित वर्तमान संकटको अवस्थामा पार्टीगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध ढंगले जनताको स्वास्थ्य र समस्या समाधानमा लाग्न सबैलाई अपिल गरेका छन् ।

भिडियो सन्देशमार्फत विहीबार उनले सो भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहंदा दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक, निम्न आय भएका व्यक्ति, गर्भवती महिला र अन्य दीर्घ बिरामीले भोग्नुपरेका समस्याले आफूलाई चिन्तित बनाएको उल्लेख गरेका छन् ।

महामन्त्री डा कोइरालाले सिमानामा अड्केका तथा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा समेत व्यक्तिगतरूपमा र काँग्रेस पार्टीका तर्फबाट पटक–पटक सरकारलाई ध्यानाकर्षण गराएको अपिलमा जनाएका छन् ।

लाखौँलाख जनताको ज्यान जोखिममा भएको यस संकटको बेला कुनै पनि विभाजनको रेखा कोर्नु मुर्खता मात्र होइन जनताप्रतिको धोकाधडी भएको बताउँदै उनले संकटको समयमा अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट धन्यवाद दिएका छन् ।

‘म आफैँ पनि चिकित्सक भएका नाताले उहाँहरुको काम कति चुनौतीपूर्ण छ बुझ्न सक्छु । त्यसैले यसमा स्वास्थ्यकर्मीलाई सहयोग र सम्मान गर्न सबैलाई आग्रह गर्दछु’, महामन्त्री डा कोइरालाले भनेका छन् ।

साथै उनले मुस्लिम समुदायको रमजान पर्वका अवसरमा शुभकामना दिँदै वर्तमान विषम परिस्थितिमा घरमै बसेर नमाज पढ्न र भीडभाड नगरिदन आग्रह समेत गरेका छन् । भिडियो सन्देशमा उनले कारोना भाइरस संक्रमणको जोखिम र त्यसबाट बच्ने उपायका बारेमा जानकारी समेत गराएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू