शनिबार, वैशाख १५, २०८१
05:05 | ०९:५०

कोरोनाले मृत्यु हुने ‘फ्रन्टलाइनर’का परिवारलाई ६० हजार पाउण्ड

नेपाली लिङ्क अप्रिल २७, २०२०

स्वास्थ्यमन्त्री म्याट ह्यानकक

लण्डन । बेलायतले कोरोना संक्रमणबाट मृत्यु हुने ‘फ्रन्टलाइन’मा कार्यरत स्वास्थ्यकर्मीहरुको परिवारलाई ६० हजार पाउण्डको आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा सोमबार स्वास्थ्यमन्त्री म्याट ह्यानककले सेवाकै क्रममा संक्रमण भएर ज्यान गुमाउने स्वास्थ्यकर्मीका परिवारलाई आर्थिक राहतको घोषणा गरे ।

यो सहायता बेलायतको ‘नेशनल हेल्थ सर्भिस’ (एनएचएस) र ‘सोसल केयर’ मा कार्यरत स्टाफका हकमा लागु हुनेछ ।

यसअघि ५० सर्वदलीय सांसदहरुले प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेख्दै कोरोनाभाइरस क्षतिपूर्ति योजना ल्याउन माग गरेका थिए ।

सहायता घोषणा गर्दै मन्त्री ह्यानककले अहिलेसम्म ८२ ‘एनएचएस’ र १६ ‘सोसल केयर’ स्टाफले कोरोनाका कारण ज्यान गुमाएको पुष्टी समेत गरे ।तर, अन्य श्रोतहरुले मृतक स्वास्थ्यकर्मीहरुको संख्या अझ माथि हुने बताउंदै आएका छन् ।

‘आफ्नो प्रियजन गुमाउंदा अरु केहीले पनि विस्थापित गर्न सक्दैन् तर यो दुःखको घडीमा हामी शोक सन्तप्त परिवारलाई सकेको गर्न चाहन्छौं’, मन्त्री हयानककले भने, ‘उनीहरुको प्रियजनहरुलाई हामीले हेरविचार गर्नुपर्छ भन्ने कर्तव्यबोध भएको छ’ ।

मन्त्री हयानककले कोरोना भाइरस महामारीका कारण स्थगित ‘एनएचएस’का अन्य सेवा पनि आज मंगलबारदेखि सुचारु गरिने जनाएका छन् । क्यान्सर, मानसिक स्वास्थ्य उपचारबाट पुनः एनएचएस सेवा शुभारम्भ गरिने सरकारले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने ‘फ्रन्टलाइनर’हरुको परिवारको लागि घोषणा गरिएको आर्थिक सहायता ‘प्याकेज’ को विपक्षी लेबर पार्टीले समेत स्वागत गरेको छ ।

स्वास्थ्यकर्मीहरुको लागि आवश्यक ‘पिपिई’ को पनि तत्काल व्यवस्था गर्न लेबरले सरकारलाई आग्रह गरेको छ ।

सरकारको घोषणालाई  बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियन ‘युनिसन’ सहितका ‘युनियन’हरुले पनि स्वागतयोग्य भनेका छन् ।

तर उनीहरुले यो आर्थिक सहायता ‘प्याकेज’ लाई ‘एनएचएस’ र ‘सोसल केयर’ बाहेक ‘केअरर’, शिक्षक, बस ड्राइभर लगायतका अन्य अत्यावश्यक सेवामा खटिनेहरुको लागि समेत बिस्तार गर्न माग गरेका छन् ।

यसैबीच, कोभिड १९ विरुद्ध अग्रपंक्तिमा लडेर दिवगंत हुन पुगेका एनएचएस कर्मचारीहरुको सम्झनामा आज मंगलबार बिहान ११ बजे एक मिनेट मौनधारण गर्ने कार्यक्रम तय छ । यस कार्यक्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित अन्य मन्त्रीहरु समेत सहभागी हुने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू