शुक्रबार, वैशाख ७, २०८१
17:52 | २२:३७

बेलायतमा ‘कोभिड १९’ खोपको परीक्षणले जगायो आशा

नेपाली लिङ्क अप्रिल २४, २०२०

लन्डन । बेलायतमा ‘कोभिड १९’ विरुद्धको खोप मानिसमा परीक्षण शुरु भएको छ ।

बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि ‘कोभिड १९’ विरुद्धको नयां खोप परीक्षण शुरु गरेको हो । युरोपकै पहिलो परीक्षण अन्तर्गत पहिलो दिन दुई स्वस्थ स्वयंसेवकले खोप लिएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयको ‘जेनर इन्स्टिच्यूट टिम’की प्राध्यापक सारा गिल्बर्टले आउंदो मे मध्यसम्ममा ५०० जनासम्म स्वयंसेवीहरुमा उक्त खोप परीक्षण गर्ने योजना रहेको बताइन् । उक्त खोपको परीक्षण सफल हुनेमा उनी पूर्ण आशावादी छिन् ।

मानव परीक्षणको प्रारम्भिक नतिजा सेप्टेम्बर महिनासम्ममा प्राप्त हुने अनुसन्धानकर्ताहरुले आशा गरेका छन् ।

बीबीसीका अनुसार, खोप लिनेमध्ये एकजना स्वयंसेवक इलिसा ग्रानाटोले आफू वैज्ञानिक भएकाले सम्भव भएसम्म खोप विकासको वैज्ञानिक प्रक्रियामा सहयोग गर्न चाहेको बताएकी छन् ।

‘वाटर एड यूके’ मा सिनियर वास मेनेजरका रुपमा कार्यरत जनस्वास्थ्य विज्ञ डा. ओमप्रसाद गौतम ‘कोभिड १९’ को पहिलो केस देखिएको करिब ४ महिनाभित्र ‘भ्याक्सिन’ परीक्षणको तहसम्म आइपुग्नुलाई ‘क्वीक टर्न अराउण्ड’ का रुपमा लिन सकिने बताउंछन् । तर उनले यो ‘भ्याक्सिन’ सफल हुने नहुने अहिले भन्न नसकिने बताए ।

‘भ्याक्सिनको परीक्षणमा ‘ट्रायल एण्ड इरर’ चलिरहन्छ । कहिले, कुन चरणमा पुगेर सफल हुन्छ थाहा हुंदैन’, उनले भने ।

गौतमका अनुसार, कुनै पनि रोगको ‘भ्याक्सिन’ तयार हुन १२ देखि १८ महिनासम्म लाग्न सक्छ ।

तर, अक्सफोर्ड विश्वविद्यालयले आउंदो सेप्टेम्बरसम्म ‘कोभिड १९’ विरुद्धको भ्याक्सिन तयार गरिसक्ने बताउनु आफंमा चुनौतिपूर्ण देख्छन् उनी ।

परीक्षणमा भाग लिन १८ देखि ५५ वर्षका इच्छुक स्वयंसेवकका लागि आव्हान गरिएको छ । परीक्षणमा सहभागी हुनेले जनही १९० देखि ६२५ पाउण्डसम्म पाउनेछन् । तर, आवेदक स्वास्थ्य हुनुपर्नेछ । अनुसन्धानकर्ताहरुले एकहजार एकसय १२ जना स्वयंसेवकको आवेदन मागेका छन् जसमा ५५१ जनालाई भने ‘कन्ट्रोल भ्याक्सिन’ दिइनेछ ।

स्काइ न्यूजका अनुसार, खोप परीक्षणमा सहभागी हुन कोरोना भाइरस ‘पोजिटिभ’ आफैंमा रिपोर्ट आएका, कोभिड १९ को अति जोखिम अवस्थामा रहेका व्यक्तिसंगै बसेका, गर्भवती भएका र हुने चाहना राखेका एवं नवजात शिशुलाई दुध खुवाइरहेकाले पाउने छैनन् ।

खोप विकासका लागि बेलायत सरकारले अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनको टिमलाई २०, २० गरि ४० मिलियन पाउण्ड कोष उपलब्ध गराएको छ ।

इम्पेरियल कलेज लन्डनले जुनदेखि मानव परीक्षण शुरु गर्ने बताइएको छ । स्वास्थ्यमन्त्री म्याट हयानककले दुवै टिमले गरेका प्रयासको प्रशंसा गरेका छन् । यूके ‘चिफ मेडिकल एड्भाइजर’ प्रोफेसर क्रिस ह्वीटीलाई कोरोना भाइरस विरुद्धको खोप वा औषधि अर्को वर्षसम्म उपलब्ध हुने विश्वास छ ।

बेलायतमा मृतक संख्या १८ हजार ७ सय ३८

यसैबीच, बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बेलायतमा अहिलेसम्म १ लाख ३८ हजार ७८ जनामा संक्रमण भेटिएको उल्लेख गरेको छ ।

उता, कोरोना भाइरसका कारण बेलायतमा मृत्यु हुने नेपालीको संख्या बिहीबारसम्म २२ पुगेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । –इकान्तिपुर

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू