शुक्रबार, चैत १६, २०८०
22:45 | ०४:३०

‘फर्लो स्किम’- पहिलो दिनमै करिब डेढ लाख आवेदन

नेपाली लिङ्क अप्रिल २०, २०२०

बेलायत सरकारका अर्थमन्त्री ऋषि सुनाक ।

लण्डन । कोरोना भाइरसका कारण काम गर्न असमर्थ कामदारहरुको ८० प्रतिशत तलब सरकारले उपलब्ध गराउने ‘फर्लो स्किम’का लागि पहिलो दिनमै करिब डेढ लाख कम्पनी (फर्म) ले आवेदन गरेका छन् ।

‘फर्लो स्किम’को लागि आवेदन खुला गरिएको पहिलो दिनमै १ लाख ४० हजार कम्पनीले अनलाइन माध्यमबाट उक्त आवेदन दिएको अर्थमन्त्री ऋषि सुनाकले जानकारी गराए ।

सोमबारको ‘डाउनिङ स्ट्रिट कोरोना ब्रिफिङ’लाई सम्बोधन गर्दै अर्थमन्त्री सुनाकले सरकारले ‘फर्लो स्किम’अन्तर्गत दशौं लाख कामदारहरुको तलब व्यहोर्न लागेको बताए ।

ठीक एक महिनाअघि उनले कोरोनाका कारण काम गर्न असमर्थ कामदारहरुलाई तलबको ८० प्रतिशत (मासिक २५ सय पाउण्डसम्म) सरकारले उपलब्ध गराउने ‘फर्लो स्किम’ घोषणा गरेका थिए ।

सोहि ‘स्किम’मा जान चाहने व्यवसायहरुले आवेदन गर्ने अनलाइन व्यवस्था सोमबारदेखि शुरु गरिएको हो । अनलाइन आवेदन खुला भएको पहिलो आधा घण्टामै ६७ हजार आवेदन आएको बताइएको थियो ।

यो ‘स्किम’अन्तर्गत बेलायत सरकारले दशौं लाख कामदारहरुको तलबको ८० प्रतिशत रकम उपलब्ध गराउनुपर्ने आँकलन गरिएको छ ।

शुरुमा तीन महिनाको लागि भन्दै मे अन्त्यसम्मका लागि भनेर घोषणा गरिएको यो ‘स्किम’ हालै एक महिना थप गर्दै जुन अन्त्यसम्मका लागि पुर्याइएको छ ।

मे महिनाको अन्त्यसम्मका लागि मात्रै सरकारले यो ‘स्किम’अन्तर्गत करिब ४२ विलियन पाउण्ड बराबरको तलब उपलब्ध गराउने आंकलन गरिएको थियो । यो ‘स्किम’को अवधि एक महिना लम्ब्याइएपछि अब यसको बजेट पनि स्वभाविक रुपमा बढ्नेछ ।

बेलायत सरकारले सेल्फ इम्प्लोइड (स्वरोजगार) हरुको लागि समेत उनीहरुको औसत मुनाफाको ८० प्रतिशत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू