शुक्रबार, चैत १६, २०८०
09:32 | १५:१७

कठिन संघर्षपछि जितिन् बेलायतकी नेपाली नर्सले कोरोना

२३ दिन 'क्रिटिकल केयर', २ साता'आइसियू'मा

नेपाली लिङ्क अप्रिल २०, २०२०

२३ दिनसम्म ‘क्रिटिकल केयर’मा राखिएकी नर्स उमा प्रधानलाई अहिले ‘जनरल वार्ड’मा सारिएको छ । (तस्विर- सामाजिक सञ्जाल)

लण्डन । साउथ इष्ट इंग्ल्याण्डको इष्ट ससेक्सस्थित ‘कन्क्वेस्ट अस्पताल’मा गत शुक्रबार एक भावुक दृश्य देखियो ।

कोरोना भाइरस संक्रमणविरुद्ध कठिन संघर्ष गरेकी एक सहकर्मी नर्सको स्वास्थ्यमा सुधार आएको खुशी अस्पतालमा कार्यरत सयौं डाक्टर, नर्ससहितका कर्मचारीले एकसाथ मनाए ।

‘ईएसएचटी’ (इष्ट ससेक्स हेल्थ एनएचएस ट्रस्ट) मा कार्यरत नेपाली नर्स उमा प्रधानले कठिन लडाईंपछि कोरोना जितेको खुशी उनका सहकर्मीहरुले लुकाउन सकेनन् ।

२३ दिनसम्म ‘क्रिटिकल केयर’मा रहेर उपचार गराएकी उमाको स्वास्थ्यमा सुधार देखिन थालेपछि शुक्रबार उनलाई ‘जनरल वार्ड’तर्फ सारिएको थियो । उमालाई ‘क्रिटिकल केयर’बाट डिस्चार्ज गरेर ‘जनरल वार्ड’ तर्फ  लैंजादै गर्दा अस्पतालमा कार्यरत सयौंको संख्याका डाक्टर, नर्स र कर्मचारीले बाटोमा लहरै उभिएर ताली बजाइरहेका थिए ।

सहकर्मीहरुबाट प्राप्त हौसला र स्नेहपछि उमा भन्दै थिइन्, ‘म अझै पनि अस्पतालमै छु, तर हरेक दिन सुधार हुँदै गएको छ । मेरो लागि ‘क्रिटिकल केयर’को टिमले गरेको हरेक सहयोग र सेवाको लागि म धन्य छु ।’

‘इष्ट ससेक्स हेल्थ एनएचएस ट्रस्ट’ का ‘क्रिटिकल केयर कल्सल्टेन्ट’ केट मुर्रेले पनि उमाले एक कठिन लडाईं जितेको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘उमाले साँच्चीकै कठिन लडाईं जितेकी छन् । २ साता भन्दा लामो समय त उनलाई ‘आइसियू’मै राख्नुपरेको थियो । अहिले उनले उल्लेखनीय प्रगति गरेकी छन् । उनलाई क्रिटिकल केयरबाट डिस्चार्ज गर्न पाउँदा हामीहरु सबै निकै खुशी भएका छौं ।’

स्वास्थ्यमा सुधार भएलगत्तै उमाले अब फेरि उनी कहिलेदेखि काममा फर्किन सक्छिन् भनेर प्रश्न गरेको भन्दै सहकर्मीहरुले उनको प्रशंसा गरेका छन् ।

बेलायतमा कोरोनाविरुद्ध ‘फ्रन्टलाइन’मै खटिएका दर्जनौं डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मीहरुको ज्यान गइसकेको छ भने सयौं संक्रमित भएका छन् । बेलायतमा कार्यरत केहि नेपाली डाक्टर, नर्सलाई समेत कोरोनाको संक्रमण भएको छ ।

हेरौं भिडियो : उमालाई ‘क्रिटिकल केयर’बाट डिस्चार्ज गरेर ‘जनरल वार्ड’ तर्फ लैंजादै गर्दा सहकर्मीले मनाएको खुशी (भिडियो स्रोत- एनएचएस )

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू