शुक्रबार, वैशाख १४, २०८१
21:50 | ०२:३५

‘कोभिड-१९’ बाट विश्वभर २८ नेपालीको मृत्यु

रासस अप्रिल १९, २०२०


काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली २८ पुगेका छन् ।

एनआरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित ‘कोभिड -१९’ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो ।

स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार १ सय ६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको सो आँकडानुसार २१ देशमा रहेका नेपाली ‘कोभिड -१९’ बाट संक्रमित छन् ।

नेपालमा भने १९ हजार ५ सय ५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।

संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करीब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, बहराइनमा ४९, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चारचार, क्यानडा र मलेसियामा तीनतीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मा र हङकङमा एक-एक जना रहेको उपसमितिले जनाएको छ ।

विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, एनआरएनएका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो आँकडा तयार पारिएको स्वास्थ्य उपसमितिले जनाएको छ । विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ एनआरएनएले आफ्ना शाखाहरुलाई परिचालन गरेको जनाइएको छ ।

एनआरएनएका अध्यक्ष पन्तका अनुसार बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितका लागि राहत वितरण गरिएको छ ।

यसैबीच, एनआरएनए कोभिड १९ उच्चस्तरीय समितिको बैठक आइतबार बस्ने भएको छ । संघका महासचिब डा हेमराज शर्माका अनुसार बैठकले कोरोना पीडितका लागि राहत वितरणको नयाँ नीति तय गर्ने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू