शनिबार, वैशाख १५, २०८१
20:28 | ०१:१३

‘कोभिड १९’ बिरामीबाहेक अरुलाई जिपी र अस्पतालको ढोका बन्द भएकै हो ?

नरेन्द्र बस्नेत अप्रिल १८, २०२०

लन्डन । गत डिसेम्बरदेखि चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्वलाई नै त्रसित पारेको छ । कोरोनाका कारण विश्वभर स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा ठूलो प्रभाव परिरहेको छ । स्वास्थ्यकर्मी मात्र होइन्, हस्पिटलका उपकरण र बेड अभाव चुलिएको छ । दैनिक 
हजारौंको संख्यामा कोरोना संक्रमितहरुलाई उपचारार्थ अस्पतालमा राख्न धौ-धौ परिरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरु आफ्नो ज्यान जोखिममा पार्दै पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) बिना नै काम गर्न वाध्य भएका छन् । कोरोनाको संक्रमणबाट पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै बेलायतको पूर्वी लन्डनको विशाल प्रदर्शनी भवन एक्सेल सेन्टरलाई बेलायतको सबैभन्दा ठूलो एनएचएस नाइटिंगेल हस्पिटलको रुपमा परिणत गरिएको छ । जहां ८० भन्दा बढि वार्ड तथा ४ हजार भन्दा बढी शैया रहने छन् । अस्थायी रुपमा निर्मित उक्त हस्पिटल विश्वकै ठूलो हस्पिटल अन्तर्गत पर्नेछ भने विश्वकै ठूलो ‘क्रिटिकल केयर युनिट’ भएको बताइएको छ । अन्य स्थानहरुमा पनि यस्ता अस्पताल तयार भइरहेका छन् ।

अत्यन्त इमर्जेन्सी बाहेक बेलायतका अस्पताल तथा जीपीहरुमा विरामी जानबाट रोक लगाइएको छ । अस्पतालको प्रवेशद्वारमा नै ‘प्लिज डु नट कम इन्टु द हस्पिटल’ अर्थात कृपया अस्पतालमा नआउनुहोला भनेर ठूलो बोर्ड झुन्ड्याइएको छ । नियमित रुपमा अस्पतालमा गरिने इमर्जेन्सी बाहेकका परिक्षण तथा शल्यक्रियाहरु कोरोना महामारीका कारण तत्कालका लागि रोकेर पर सारिएको छ । जसले गर्दा विरामीहरु थप मारमा पर्दै आएका छन् । बेलायतको विगतको इतिहास हेर्ने हो भने उपचार सम्भव हुंदाहुंदै पनि यहां विभिन्न कारणले वर्षेनी हजारौंको संख्यामा मानिसहरुको मृत्यु हुने गरेको छ । कोरोनाका कारणले गर्दा उपचारको अभावमा अन्य बिरामीहरुको पनि मृत्युदर बढ्न सक्ने स्वभाविक रुपमा देख्न सकिन्छ । जीपीमा बिरामी परीक्षण गर्ने काम नै बन्द भएको भन्ने कतिपयको बुझाइ छ भने कतिपय मानिसहरु कोरोना संक्रमणको जोखिमका कारणले पनि जीपी तथा अस्पताल जान छाडेका छन् ।

जीपीमा बिरामीको लागि बन्द गरिएको हो त भन्ने बारेमा जीपी डाक्टर सचिन गुरुङ भन्छन्, बिरामी जांच गर्नका लागि पूर्ण रुपमा बन्द गरिएको छैन्, मात्र ‘फेस टु फेस’ जांच गर्ने प्रक्रियामा केही कडाइ गरिएको हो । कोरोना महामारीका कारण अपोइन्टमेन्ट प्रक्रियामा नियन्त्रण गरिएको छ । टेलिफोन, भिडियो कल र इमेलमार्फत पनि उपचार भइरहेको छ । शरीरमा कुनै किसिमका घाउ खटिरा वा एलर्जीहरु आएका छन् भने त्यसका फोटोहरु इमेल मार्फत पठाएर पनि सेवा प्रदान भइराखेको उनले बताएका छन् । तर आवश्यक परेमा अझै पनि ‘फेस टु फेस’ अपोइन्टमेन्टको पनि ढोका बन्द नभएको डा. गुरुङले बताए ।

त्यस्तै कोरोना भाइरसको कुनै खास उपचार नभएकोले आफूले नै सतर्कता अपनाउनुपर्ने कन्सल्टेन्ट फिजिसियन डा. लक्ष्मण पौडेल बताउंछन् । कोरोनाको कुनै शंका लागेमा घरमा नै ७ देखि १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने र त्यसपछि पनि ठिक नभएको खण्डमा अस्पताल जानुपर्ने उनको धारणा छ । कुनै भ्याक्सिन तथा यसको सहि उपचार नभएकोले अस्पतालमा गएपछि रोगको वास्तविकता पत्ता लगाएर बिरामीलाई आवश्यक पर्ने सपोर्टिंग उपचार गरिने डा. पौडेल बताउंछन् ।

अनावश्यक रुपमा घर बाहिर ननिस्कने, घरैमा बसेर कोरोनाको संक्रमणबाट बच्न सरकारद्वारा जारी आदेशको पालना गर्दै अत्यन्त आवश्यक नपरेको खण्डमा 111.nhs.uk को प्रयोग गर्ने अर्थात 111 मा फोन गरेर आवश्यक सहयोग लिन ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले अनुरोध गरेको छ ।

मृत्युदर र संक्रमित संख्या नियन्त्रण नभएपछि गत महिनाको २३ तारिखबाट बेलायतमा शुरु गरिएको तीन हप्ता लामो लकडाउन अवधि बेलायत सरकारले बिहीबारबाट पुनः तीन हप्ताको लागि थप गरेको छ । प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालिरहेका डोमिनिक राबले विभिन्न महत्वपूर्ण पांच बुंदाहरु प्रस्तुत गर्दै स्वास्थ्य सेवा, मृत्युदरमा कमी, संक्रमणमा नियन्त्रण, पीपीआई लगायत उपकरणको आपूर्ति र पूरा देश नै कोरोनामुक्त नभएसम्म लकडाउन जारी राख्ने बताएका छन् ।

डाक्टर सचिन गुरुङको भिडियो सन्देश

कोरोनाका कारण बेलायतका जीपीको सेवा बन्द भएको हो त ? डा. सचिन गुरुङ

Posted by Nepali Link on Friday, 17 April 2020

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू