बिहीबार, वैशाख १३, २०८१
02:12 | ०६:५७

बेलायतमा ८० प्रतिशत तलबको ‘फर्लो स्किम’ एक महिना थप

कोरोनाका मृतक साढे १४ हजार पुगे

नेपाली लिङ्क अप्रिल १७, २०२०

लन्डन । बेलायत सरकारले कोरोना भाइरसको महामारीका कारण काममा जान असमर्थ कामदारहरुका लागि सरकारबाट ८० प्रतिशत तलब दिने ‘फर्लो स्किम’लाई एक महिना थप गर्ने भएको छ ।

यसअघि मे अन्त्यसम्मका लागि घोषणा गरिएको ‘स्किम’ अब जुन महिनाको अन्त्यसम्म लागू हुने भएको छ । आवश्यकताअनुसार यो म्याद अझै बढाउन सकिने पनि सरकारले जनाएको छ ।

बेलायत सरकारले कोरोनाविरुद्धको खोप (भ्याक्सिन) विकासका लागि एक उच्चस्तीय ‘टास्कफोर्स’ समेत गठन गरेको छ । सरकारको दैनिक कोराना ब्रिफिङमा शुक्रवार सेक्रेटरी अफ स्टेट फर बिजनेस आलोक शर्माले सरकारको नेतृत्वमा रहने उक्त ‘टास्कफोर्स’ले यथासक्य चाँडो ‘भ्याक्सिन’को विकास र उत्पादनका लागि काम गर्ने बताए ।

कोरोनाविरुद्धको खोप विकासका लागि प्रयासरत विभिन्न २१ वटा ‘रिसर्च’ समूहलाई सरकारले कुल १४ मिलियन पाउण्डको बजेट प्रदान गरेको मन्त्री शर्माले जानकारी दिए ।

बेलायतमा तत्काल ‘लकडाउन’ खुकुलो पार्ने अवस्था आइनसकेको मन्त्री शर्माले दाहोर्याए । हतारमा ‘लकडाउन’ खुकुलो पार्दा महामारीको अर्को ‘पिक’ सामना गर्नुपर्ने खतराबारे सरकार सतर्क रहेको उनको भनाइ थियो ।

दैनिक मृत्युको संख्या र संक्रमणको दर घट्ने, परीक्षण र ‘पिपिई’ क्षमता पर्याप्त हुने लगायतका आधारहरु तयार भएपछि मात्रै ‘लकडाउन’बारे पुनर्विचार हुन सक्ने उनले स्पष्ट पारे ।

बेलायतमा कोरोनाका मृतक साढे १४ हजार पुगे

बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ५ सय ७६ पुगेको छ । गएको २४ घन्टाभित्र बेलायतका अस्पतालमा थप ८ सय ४७ जनाको निधन भएपछि मृतकको संख्या अब १५ हजारको नजिक पुग्न थालेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’का अनुसार बेलायतमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या पनि बढेर १ लाख ८ हजार ६ सय ९२ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ५ हजार ५ सय ९९ ले बढि हो ।

अहिलेसम्म बेलायतमा कुल ४ लाख ३८ हजार ९ सय ९१ जनामा परीक्षण गराइएको छ । जसमध्ये २१ हजार भन्दा बढि परीक्षणहरु विहिबार मात्रै भएका थिए । अहिलेसम्म ६६ हजार ‘एनएचएस’ स्टाफ तथा तीनका परिवारका सदस्यको परीक्षण गरिएको छ ।

सार्वजनिक मृतकको संख्या अस्पतालमा ज्यान गुमाउनेहरुको मात्र हो । कोरोनाकै कारण अस्पताल बाहिर ‘केयर होम’लगायतमा मृत्यु हुनेहरुको संख्या तथ्यांकमा समावेश छैन् ।

सरकारले अब छिटै अस्पतालबाहिरका मृत्युहरुलाई पनि रिपोर्ट गर्ने व्यवस्था मिलाउने बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू