शुक्रबार, वैशाख ७, २०८१
23:38 | ०४:२३

सुदूरपश्चिममा थप ३४ चिकित्सकको टोली

नेपाली लिङ्क अप्रिल १७, २०२०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा

काठमाडौँ । थप जनशक्तिको आवश्यकता रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ३४ चिकित्सक सुदूरपश्चिम प्रदेशमा पठाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले उक्त प्रदेशमा परीक्षणको दायरा बढाउनुपर्ने भएकाले थप चिकित्सक पठाइएको बताए । ती सबै चिकित्सक एक महिनाका लागि पठाइएको र आवश्यकताअनुरुप समय थप गर्न सकिने मन्त्रालयको भनाइ छ । ती सबै चिकित्सक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा ‘एमडिएमएस’ तहमा अध्ययनरत छन् ।

कोभिड–१९ को (पिसिआर) र (आरडिटी) सङ्ख्या २४ हजार २०० को परीक्षण गरेको भन्दै मन्त्रालयले ‘क्वारेनटाइन’मा चार हजार ७ सय ६ रहेका जनाएको छ । ‘आइसोलेसन’मा ९० जना रहेका बताएको छ । स्वमूल्याङ्कन फारममार्फत हालसम्म १८ हजार २०८ ले फारम भरेका छन् । सोमा ‘रेड जोन’मा परेका २५१ रहेका छन् । त्यसैगरी परीक्षणको दायरा बढाउनका लागि पिसिआर मेशिन शुक्रबार पाटन अस्पतालमा पनि जडान गरिएको छ । योसहित उक्त मेशिन देशभरमा गरी १४ वटा पुगेका छन् ।

पत्रकार सम्मेलनमा मन्त्रालयले नियमित गरिने आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्न पनि आग्रह गरेको छ । नियमित खोप सेवा, सुरक्षित गर्भपतन सेवा, दादुरा रुबेला खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग, मलेरिया र एचआइभीलगायतका आधारभूत सेवा सञ्चालन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

यी आधाभूत सेवा बन्द गर्दा भविष्यमा झन ठूलो समस्या हुनसक्ने भन्दै मन्त्रालयले सम्बन्ध भएका सबैलाई सेवा सञ्चालन गर्न आग्रह गरेको हो । पत्रकार सम्मेलनमा फोक्सो रोग तथा आइसीयु विशेषज्ञ डा अर्जुन कार्कीले हालको समस्या समाधानका लागि स्थानीयवासी ठूलो भूमिका रहेकाले परिक्षणको दायरा बढाउन अनुरोध गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू