शनिबार, वैशाख ८, २०८१
11:38 | १६:२३

कोरोनाले ‘भाइरल’ बनाएका बेलायतका नेपाली

कोरोनाले घलेलाई दिलायो चर्चा

नेपाली लिङ्क अप्रिल १७, २०२०

पूर्ण घले अन्तर्राष्ट्रिय मिडियाहरुमा भइरहेको आफ्नो चर्चाबारे भने अनभिज्ञजस्तै छन् ।

लण्डन । पछिल्लो समय बिबिसीसहितका प्रतिष्ठित बेलायती मिडियाहरुमा छाइरहेका छन् पूर्ण घले ।

लण्डनको ‘नर्थविक पार्क अस्पताल’ मा ‘क्लिनर’का रुपमा कार्यरत उनी अन्तर्राष्ट्रिय मिडियाहरुमा भइरहेको आफ्नो चर्चाबारे भने अनभिज्ञजस्तै छन् ।

गत महिना श्रीमतीसहित २ साताको बिदामा नेपाल गएका बेला ‘लकडाउन’मा परे घले । १७ दिनसम्म काठमाडौंमा अड्किएका उनले गतसाता बेलायत सरकारले ‘चार्टर’ गरेको विमानमा लण्डन फर्किने मौका पाएका थिए ।

लण्डन आइपुगेलगत्तै आफ्नो काममा फर्किए घले । कोरोना संक्रमितहरुका कारण चर्को दबाब र स्टाफहरुको कमी झेलिरहेको उक्त अस्पताललाई पनि उनको फिर्ती सहयोगजस्तै बन्यो ।

‘लकडाउन’का बाबजुद नेपालबाट लामो र अफ्ठेरो यात्रा गरी लण्डन उत्रिएर काममा फर्किएका घलेको बारेमा स्थानीय पत्रकारहरुले लेखे । बेलायतका प्रतिष्ठित मिडियाहरुमा समाचार प्रकाशित भएपछि हजारौंले उनको कामप्रतिको समर्पण र सकारात्मकताको प्रशंसा गरेका छन् ।

मिडिया र सामाजिक सञ्जालमा ‘भाइरल’ नै बनेका घले आँफै भने यसबारे खासै जानकार छैनन् । शुक्रबार मध्यान्ह नेपाली लिंकसंगको टेलिफोन संवादमा उनले आफ्नो बारेमा समाचार बनेकोमा खुशी लागेको बताए । तर समाचारमा आइसकेपछि अब के हुन्छ भन्ने अन्योलमा परेका उनले सोध्दै थिए, ‘अब के हुन्छ होला भाई ?’

लण्डनको नर्थविक पार्क अस्पतालमा क्लिनरका रुपमा कार्यरत छन् घले

लमजुङ बाहुनडाँडा घर भएका ४३ वर्षीय घले सन् २००१ मा बेलायत आएका हुन् । श्रीमती र दुई छोरासहितको उनको परिवार लण्डनको एजवेयरमा बस्दै आएको छ ।

पछिल्लो १६ वर्षदेखि घले लण्डनको नर्थविक पार्क अस्पतालमा ‘क्लिनर’ छन् । अस्पतालभित्रको सरसफाई उनको मुख्य जिम्मेवारी हो ।

‘झाडु-मोप’ लगाउने, मेसिन चलाउने लगायतका काम उनको नियमित ‘ड्युटी’मा पर्छन् । तर कहिलेकाहिं आफ्नो नियमित कामबाहेक ‘वार्ड’मा समेत गएर काम गर्नुपर्ने उनी बताउँछन् ।

कोरोनाको महामारीबीच अस्पतालको सरसफाइमा फर्किएका घले डराएका छैनन् तर आफ्नो स्वास्थ्य सुरक्षाबारे सतर्क छन् ।

‘आफू सुरक्षित रहेर भएपनि काम त गर्नुपर्यो नि । सबैजना डराए भने कसरी चल्छ र ?’ घलेले प्रतिप्रश्न गर्दै भने, ‘यस्तो बेलामा अस्पताललाई हाम्रो काम झन् जरुरी छ । त्यसैले सकेको गरौं भन्ने लागेको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू