बिहीबार, वैशाख १३, २०८१
03:00 | ०७:४५

बेलायतमा रहेका नेपालीबारे सरकारको चासो

नेपाली लिङ्क अप्रिल १६, २०२०

लण्डनस्थित नेपाली दूतावास

लन्डन । नेपाल सरकारले बेलायतमा रहेका नेपालीको अवस्थाबारे चासो लिएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसंग फोन सम्पर्क गरि चासो व्यक्त गरेका हुन् ।

‘कोरोना भाइरस (कोभिड–१९) संक्रमणले गुज्रिरहेको यूकेमा नेपालीको अवस्थासहित अन्य विषयमा मन्त्रीज्यूले सोधपुछ गर्नुभएको छ’, लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनले नेपाली लिंकसंग भने, ‘बेलायतमा कोभिड १९ को अवस्था, नेपाली विद्यार्थी र डायस्पोराका समस्या, वृद्धवृद्धाको स्थिति, अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने सम्बन्धि विषय र दूतावासले चालेका कदम आदिबारे उहांहरुबीच कुराकानी भएको छ ।’

उच्च शिक्षाका लागि बेलायती विश्वविद्यालय आएका नेपाली विद्यार्थी र परीक्षाका लागि आएका चिकित्सक विचल्लीमा परेको, करिब दर्जन हाराहारी भूतपूर्व गोर्खा ‘कोभिड १९’ का कारण मरेका खवर आइरहंदा मन्त्रीले चासो व्यक्त गरेका हुन् । नेपाली विद्यार्थी र चिकित्सकले आफूहरुको उद्दार गरिदिन नेपाल सरकारसंग अपिल समेत गरेका थिए । विद्यार्थीका समस्या समाधानका लागि लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूके लगायत संघसंस्थाले आ-आफ्नो तर्फबाट पहल पनि जारी गरेका छन् ।

मन्त्री ज्ञवालीले युरोप, अस्ट्रेलिया र थाइल्यान्डमा रहेका नेपालीको अवस्थाबारे पनि जानकारी लिएका बताइएको छ । मन्त्रीले बेग्लाबेग्लै टेलिफोन संवाद गरी कोरोनाको वर्तमान अवस्था र त्यहां रहेका नेपालीहरुको सुरक्षाका लागि नियोगले गरेका कार्यबारे जानकारी लिएका हुन् । मन्त्री ज्ञवालीले त्यहां रहेका आफ्ना नागरिकहरुलाई सहयोगका लागि हरबखत तयार रहन राजदूतहरुलाई निर्देशन समेत दिएको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू