शुक्रबार, चैत १६, २०८०
08:30 | १४:१५

कोरोना संक्रमणबाट लण्डन प्लमस्टिडका ५८ वर्षीय श्रेष्ठको निधन

नेपाली लिङ्क अप्रिल १५, २०२०

मृतक लक्ष्मण श्रेष्ठ ५८ वर्षका थिए ।

लण्डन । कोरोना भाइरसको संक्रमणबाट साउथ इष्ट लण्डनको प्लमस्टिडनजिक ‘वीकह्यम लेन’ मा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा लक्ष्मण श्रेष्ठको निधन भएको छ । लण्डनको ‘गाइज अस्पताल’मा उपचारकै क्रममा बुधबार बिहान श्रेष्ठको निधन भएको परिवारले बताएको छ ।

नेपालमा स्याङ्जा पुख्र्यौली भएका श्रेष्ठको बसोबास पछिल्लो समय पोखरामा थियो । उनी सन् २०१० देखि परिवारसहित बेलायत बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् । जसमध्ये दुई छोरीको विवाह समेत भइसकेको छ ।

लण्डनको ओलम्पिक पार्कमा ‘रेस्क्यू ड्राइभर’का रुपमा कार्यरत श्रेष्ठ मार्चका २३ तारिखसम्म पनि काममा गइरहेका थिए । ‘त्यसपछि बिस्तारै बुवालाई रुघाखोकीले समाएको थियो । ज्वरो भने थिएन । बुवाले पनि खासै केहि भएको छैन भन्नुहुन्थ्यो । हामीले पनि सामान्य नै होला भन्ने सोंचेका थियौं’, मृतक श्रेष्ठकी छोरी रेजिना श्रेष्ठले नेपाली लिंकसंग भनिन्, ‘पछि दुई दिन पखाला भयो । खोकी पनि अलिक बढ्दै गयो । अनि हामीले अस्पतालमा सम्पर्क गरेका थियौं ।’

अस्पतालको सल्लाहमा अक्सिजनको मात्रा जाँच गर्दा निकै न्यून देखिएपछि गत मार्च ३१ तारिखका दिन दिउँसो ४ बजे परिवारले अस्पताललाई दोस्रोपटक सम्पर्क गरेको थियो । ‘४ बजे फोन गरेको, राती साढे १० बजे मात्रै एम्बुलेन्स आयो । निकै व्यस्त छौं, ४ सय जना लाइनमा छ भन्थे’, छोरी रेजिनाले सुनाइन्, ‘एम्बुलेन्समा आएको प्यारामेडिक टीमले अस्पताल जानुपर्छ भन्यो । बुवा पनि खासै केहि नभएजस्तै आफै हिंडेर एम्बुलेन्ससम्म जानुभयो ।’

मार्च ३१ को राती साउथ इष्ट लण्डनको क्वीन एलिजावेथ अस्पताल भर्ना भएका श्रेष्ठलाई भोलिपल्टबाटै ‘भेन्टिलेटर’मा राखिएको थियो । दुई दिनपछि ‘फिक्स भेन्टिलेटर’मा राख्नुपर्ने भएको भन्दै लण्डनको ‘गाइज अस्पताल’मा सारिएको जानकारी परिवारलाई गराइएको थियो । कोरोनाको संक्रमण पुष्टी भएकोबारे पनि अस्पताल भर्ना भएको ४ दिनपछि परिवारले जानकारी पाएको थियो ।

‘हरेक दिन अस्पतालले हामीलाई सुधार हुंदैछ भनेर अपडेट गराउँथ्यो । हामी भिडियो कल नै गरेर उनीहरुसंग कुरा गथ्र्यौं । वुबालाई ठीक हुंदैछ र छिट्टै निको भएर फर्किनुहुन्छ भन्ने आशामै थियौं’, छोरी रेजिनाले भनिन्, ‘सोमबार नेपाली नयाँ वर्षकै दिन फेरि उनीहरुले फोन गरेर एक्कासी कुनै ‘प्रोगेस’ भएन भने । जति अक्सिजन दिंदा पनि ‘रेस्पोन्स’ भएन, अब भेन्टिलेटरबाट निकाल्नुपर्छ भने ।’

सुधार हुँदैछ भनेर आशावादी बन्दै गएको परिवारलाई अब उपाय बाँकी रहेन भन्ने वास्तविकता स्वीकार्न निकै गाह्रो थियो । आफन्तले नेपालमा ज्योतिषलाई हेराउँदा श्रेष्ठलाई मंगलबारसम्मको ‘खट्को’ रहेको बताए । दुई दिन थप बचाउन सकियो भने उपाय लागिहाल्छ कि भन्ने झिनो आशा परिवारलाई पलायो ।

अन्तिम अवस्था पुगिसकेका श्रेष्ठसंग परिवारको १ जनालाई भेट्न दिने भनेको थियो अस्पतालले । श्रीमतीलाई साहस आएन । सोमबार साँझ आफै नर्स रहेकी कान्छी छोरी गइन् । ‘भेन्टिलेटर’मा रहेका बुवाको फोटो, भिडियो खिचेर ल्याइन् ।

अस्पतालले ‘भेन्टिलेटर’बाट निकाल्न परिवारको अनुमति पर्खिरहेको थियो । तर मंगलबारसम्मको ‘खट्को’ कटाउन पाए बचाउन सकिन्थ्यो कि भन्ने आशा परिवारलाई थियो । परिवारले धेरै अनुनय गरेपछि अस्पतालले पनि थप २४ घण्टा ‘भेन्टिलेटर’मै राखिदिन सहमति जनायो । तर बुधबार बिहान साढे १० बजे अस्पतालले फोन गरेर परिवारलाई श्रेष्ठको निधनबारे नमिठो खबर सुनायो ।

परिवारको सन्देश: धेरै सहने नगरौं

झण्डै १७ वर्षअघि बेलायती सेनाबाट अवकाश लिएका श्रेष्ठको १५ वर्षअघि ‘पित्ताशय’ निकालिएको थियो । त्यसयता उनी पूर्ण रुपमा स्वस्थ र तन्दुरुस्त थिए ।

पासा पुच: साउथ इष्ट लण्डनका एक सक्रिय आजीवन सदस्य रहेका उनी स्थानीय पशुपतिनाथ मन्दिरमा पनि आजीवन सदस्य थिए । परिवारका अनुसार श्रेष्ठलाई खासै ठूलो स्वास्थ्य समस्या थिएनन् ।

‘एकदम फिटफाट हुनुहुन्थ्यो । बुवाले सबैलाई सहयोग गर्नुपर्छ भन्ने सोंच राख्नुहुन्थ्यो । हामीहरुलाई मात्र होइन, सबैको लागि सांच्चिकै भगवान जस्तै हुनुहुन्थ्यो’, छोरी रेजिनाले सम्झिइन्, ‘बुवाले धेरै सहनुहुन्थ्यो, गाह्रो भएपनि लुकाएर ठीक छ भन्नुहुन्थ्यो । यसपटक पनि त्यस्तै गर्नुभयो । खोकीले एकदमैगाह्रो बनाउँदा समेत उहालेँ मलाई ठीकै छ भनिराख्नुहुन्थ्यो । उहाँलाई थाहा नै नदिइ हामीले अस्पताललाई खबर गरेका थियौं ।’

श्रेष्ठलाई केहि दिन पहिले नै अस्पताल पुर्याउन पाएको भए निको हुन्थ्यो कि भन्ने अहिले परिवारलाई लागेको छ । ‘तर उहाँले आफै सहने, हामीलाई लुकाउने गर्नुभयो’, रेजिनाको अरुलाई सुझाव छ, ‘स्वास्थ्यामा कुनै समस्या देखिए सहेर नबस्नुहोस् । परिवारसंग पनि शेयर गर्नुहोस् । समयमै उपचार गर्दा ठीक हुन सक्छ, ढिलो हुँदा बिग्रिंदै जाने रहेछ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू