शुक्रबार, वैशाख १४, २०८१
04:57 | ०९:४२

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने १२ हजार १ सय ७

नेपाली लिङ्क अप्रिल १४, २०२०

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या बेलायतमा १२ हजार १ सय ७ पुगेको छ ।

लण्डन । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या बेलायतमा १२ हजार १ सय ७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ७८ थप संक्रमितहरुको मृत्यु भएको बेलायत सरकारको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले जनाएको छ ।

मृतकहरुको यो संख्या विभिन्न अस्पतालमा निधन भएकाहरुको मात्रै हो । तर, कोरोनाको संक्रमणबाट मृत्यु हुने हरेक १० मध्ये एक जनाको अस्पताल बाहिर नै मृत्यु हुने गरेको ठानिएको छ ।

‘अफिस अफ नेसनल स्ट्याटिस्टिक्स’ (ओएनएस) ले जारी गरेको तथ्यांकले पनि अप्रिल ३ सम्मको एक सातामा इंग्ल्याण्ड र वेल्समा औसतभन्दा डेढ गुणा बढि मृत्यु ‘रेकर्ड’ भएको देखाएको छ ।

यसैगरी बेलायतमा कोरोना संक्रमणका केसहरु पनि पछिल्लो एक दिनमा ५ हजार २ सय ५२ वृद्धि भएका छन् । अब कुल संक्रमितको संख्या ९३ हजार ८ सय ७३ पुगेको छ । अहिलेसम्म बेलायतमा ३ लाख २ हजार ५ सय ९९ मानिसहरुमा ३ लाख ८२ हजार ६ सय ५० परीक्षणहरु गराइएको छ ।

कोरोना संक्रमण फैलिनबाट रोक्ने लक्ष्यमा बेलायत सरकारले जारी गरेको ‘लकडाउन’ अहिले चौंथो सातामा छ । बेलायतमा महामारीको ‘पिक पोइन्ट’ आउन अझै केहि दिन बाँकी रहँदा सरकारले ‘लकडाउ’ खुकुलो पार्ने विषयमा सोच्ने बेला नआइसकेको बताएको छ ।

यसबैबीच, बेलायतको कर तथा खर्चसम्बन्धी स्वतन्त्र वाचडग ‘द अफिस फर बजेट रेस्पोन्सिबिलटी’ ले आउँदो जुन महिनासम्ममा बेलायतको आर्थिक वृद्धिमा ३५ प्रतिशतले गिरावट आउन सक्ने चेतावनी दिएको छ । अहिले जारी ‘लकडाउन’ ३ महिनासम्म कायम रहेको खण्डमा उक्त अवस्था सिर्जना हुने अड्कल गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू