शनिबार, वैशाख ८, २०८१
19:52 | ००:३७

बेलायतमा ‘लकडाउन’ लम्बिने

नेपाली लिङ्क अप्रिल १३, २०२०

परराष्ट्रमन्त्री डोमिनिक राबले बेलायत सरकारले लागु गरेको योजनाले काम गरिरहेको तर अझै पनि ‘पिक पोइन्ट’ आइनसकेका कारण ‘लकडाउन’ जारी राख्नुपर्ने बताए ।

लण्डन । कोरोना भाइरस संक्रमणलाई फैलिन नदिने प्रयासमा बेलायत सरकारले पहिलो चरणमा जारी गरेको तीन साता लामो ‘लकडाउन’ सोमबार पूरा भएको छ । तर, अझै पनि खुकुलो पार्ने विषयमा सोच्ने अवस्था नआइसकेको भन्दै सरकारले ‘लकडाउन’ जारी राख्ने बताएको छ ।

बेलायत सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’का क्रममा सोमबार परराष्ट्रमन्त्री डोमिनिक राबले बेलायत सरकारले लागू गरेको योजनाले काम गरिरहेको तर अझै पनि ‘पिक पोइन्ट’ आइनसकेका कारण ‘लकडाउन’ जारी राख्नुपर्ने बताए ।

प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मन्त्री राबले आफ्ना ‘साइन्टिफिक सल्लाहकारहरु’को सुझावका आधारमा ‘लकडाउन’बारे ‘रिभ्यू’ गर्ने सरकारको योजना सुनाए ।

‘संक्रमण फैलिन नदिनको लागि अहिले लागू गरिएका बन्देजहरु तत्काल खुकुलो पार्ने बारेमा हामीले सोचेका छैनौं । जबसम्म हामी ठोस प्रमाणहरुका आधारमा सुरक्षित महसुस गर्दैनौं, तबसम्म खुकुलो पार्न सक्दैनौं’, उनले भने ।

सरकारले अब घरबाहिर निस्किंदा सबैजनाले अनिवार्य रुपमा ‘मास्क’ प्रयोग गर्नुपर्ने नयाँ व्यवस्थाका बारेमा समेत विचार गरिरहेको बताइएको छ ।

यसैबीच, सोमबार जारी तथ्यांकले पछिल्लो २४ घण्टामा बेलायतमा थप ७ सय १७ जना कोरोना संक्रमितको मृत्यु भएको देखाएको छ । यससंगै हालसम्मको कुल मृतक संख्या ११ हजार ३ सय २९ पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’का अनुसार सोमबार बिहानसम्ममा बेलायतमा संक्रमित हुनेहरुको संख्या पनि बढेर ८८ हजार ६ सय २१ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू