शुक्रबार, वैशाख ७, २०८१
03:30 | ०८:१५

विद्यार्थी सहयोग: दूतावास र एनआरएनए किन फरक लाइनमा ?

नेपाली लिङ्क अप्रिल १३, २०२०

विद्यार्थीहरुको सहयोगको सवालमा यहाँस्थित नेपाली दूतावास र एनआरएनए यूके फरक-फरक लाइनमा उभिएका छन् ।

लण्डन । कोरोना भाइरसको महामारीका कारण विभिन्न समस्यामा परेका बेलायतस्थित नेपाली विद्यार्थीहरुको सहयोगको सवालमा यहाँस्थित नेपाली दूतावास र एनआरएनए यूके फरक-फरक लाइनमा उभिएका छन् ।

गतसाता विभिन्न विश्वविद्यालयमा अध्ययनरत युवा नेपाली विद्यार्थीहरुकै संस्था ‘मर्जिङ नेपसक्स’कै एक द्धारबाट विद्यार्थीहरुलाई सहयोग गर्न दूतावासले आव्हान मात्र गरेन, उनीहरुलाई आवश्यकतामा परेका विद्यार्थीको तथ्यांक संकलन गर्ने, आवश्यक कोष जुटाउने र वितरण गर्नेसम्मको जिम्मेवारी पनि प्रदान गर्यो ।

तर, त्यसको केहि दिनपछि एनआरएनए यूकेले विद्यार्थीहरुको सहयोगका लागि आफ्नो सहयोग अभियान अघि बढिसकेको जनाउँदै आफ्नै ‘च्यानल’बाट सहयोग गर्ने निर्णय सार्वजनिक गरेको छ ।

नेपाल सरकारको आधिकारिक प्रतिनिधिका रुपमा रहेको दूतावास र नेपाल सरकारबाट मान्यताप्राप्त गैरआवासीय नेपालीहरुको एक मात्र साझा आधिकारिक संस्था एनआरएनएबीच विद्यार्थी सहयोगका विषयमा किन तालमेल बन्न सकेन ? अहिले आम समुदायको चासो बनेको छ ।

शुरु गरौं, पृष्ठभूमिबाट । बेलायतमा कोरोना भाइरसको महामारीले ठूलो आकार लिंदा नलिंदै यहाँ अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरु समस्यामा परेको र कतिपयको बिचल्ली नै भएको सम्मका चर्चाहरु चल्न थालेका थिए । समस्यामा परेका विद्यार्थीलाई खान, बस्नको प्रबन्ध गर्छौ भनेर सामाजिक सञ्जालमा धेरैले सहयोगको घोषणा समेत गरे । विद्यार्थीहरुको समस्या सतहमै आएपछि एनआरएनए यूकेले पनि आफ्ना दुई जना उपाध्यक्षलाई संयोजक तोकेर उनीहरुको तथ्यांक बटुल्ने र आवश्यकता हेरेर सहयोग गर्ने निर्णय गर्यो । उता, युवा विद्यार्थीहरुको संस्था ‘मर्जिङ नेपसक्स’ले पनि आफ्नो सञ्जालमार्फत समस्यामा परेका विद्यार्थीहरुको तथ्यांक संकलन कार्य अघि बढाएको थियो ।

एनआरएनए यूके र ‘मर्जिङ नेपसक्स’ दुवैले आ-आफ्नो हेल्पलाइन र च्यानल प्रयोग गरी पीडित विद्यार्थीसम्म पुग्ने कोशिस गरिरहेकै बेला गतसाता दूतावासले भने सबै विद्यार्थीलाई ‘मर्जिङ नेपसक्स’कै एकद्धारबाट सहयोग गर्न सम्पूर्ण संघसंस्थालाई आव्हान गर्यो । ‘मर्जिङ नेपसक्स’लाई आवश्यक विवरण जुटाउने र सहयोग उठाउने जिम्मेवारी समेत दियो ।

दूतावासले ‘मर्जिङ नेपसक्स’कै एकद्धारलाई इन्डोर्स गरेपछि एनआरएनए यूके भने अफ्ठेरोमा पर्यो । एकातिर दूतावासको आव्हान, अर्कोतिर अघि बढाइसकेको आफ्नो अभियान । विद्यार्थीका लागि छुट्टै समिति गठन गरेर आर्थिक संकलन समेत शुरु गरिसकेको उसले हेल्पलाइनमा आएका दर्जनौं पीडित विद्यार्थीलाई सहयोग आश्वासन दिइसकेको थियो । विद्यार्थीको सबै जिम्मा ‘मर्जिङ नेपसक्स’लाई नै लगाउने दूतावासको निर्णयमा कतै आफ्नो संस्थाको उपेक्षा भयो कि भन्ने चिसो पनि एनआरएनएको मनमा पस्यो ।

एनआरएनएलाई बाईपास ?

आइतबार बसेको एनआरएनए यूकेको बैठकमा अधिकांश पदाधिकारीले दूतावासको निर्णयमा एनआरएनए यूकेलाई ‘बाईपास’ गरिएको धारणा राखेका थिए ।

दूतावासको आव्हान आएको केहि दिनपछि आइतबार बसेको एनआरएनए यूकेको बैठकमा विद्यार्थीहरुको सवालमा ‘मर्जिङ नेपसक्स’कै माध्यमबाट जाने कि आफ्नै ‘च्यानल’बाट सहयोग गर्ने भन्ने विषयमा व्यापक छलफल भएको थियो । बैठकका एक सहभागीका अनुसार अधिकांश पदाधिकारीले ‘मर्जिङ नेपसक्स’लाई सबै जिम्मेवारी प्रदान गर्ने दूतावासको निर्णयमा एनआरएनए यूकेलाई ‘बाईपास’ गरिएको धारणा राखेका थिए ।

बेलायतमा सबै नेपालीको साझा संस्था मानिएको, नेपाल सरकारबाट समेत मान्यताप्राप्त, विश्वव्यापी सञ्जाल भएको र यसअघि थुप्रै परोपकारी अभियानहरु सञ्चालन गरिसकेको एनआरएनए जस्तो संस्थालाई वास्ता नगरी युवा विद्यार्थीहको संस्था ‘मर्जिङ नेपसक्स’लाई दूतावासले जिम्मेवारी प्रदान गर्नु अस्वभाविक रहेको उनीहरुको मत थियो ।

एनआरएनए जस्तो ‘लिगेसी’ बोकेको संस्था ‘मर्जिङ नेपसक्स’कै अन्डरमा जाँदा यसले संस्थाको गरिमा होचो बनाउने तर्क उनीहरुले गरेका थिए । एनआरएनए यूकेले विद्यार्थीहरु समेतको लागि भन्दै सहयोग कोष पनि उठाउन थालिसकेको सन्दर्भमा विद्यार्थीहरुको केसमा हात झिक्न नमिल्ने निचोड छलफलमा निस्किएको थियो ।

तर दूतावासले उपयुक्त र नेतृत्वदायी भुमिका प्रदान गरेमा अझै पनि पुनर्विचार गर्न सकिने मनस्थितिमा समेत एनआरएनए यूके रहेको बुझिएको छ ।

उल्टो नबुझौं: दूतावास

दूतावास प्रवक्ता शरदराज आरन

एनआरएनएले आफ्नै ‘च्यानल’ मार्फत सहयोग बाँड्ने निर्णय सार्वजनिक गरेको विषयमा कुनै प्रतिक्रिया नदिने लण्डन दूतावासले जनाएको छ । तर प्रवक्ता शरदराज आरनले विद्यार्थीहरुको केसमा विद्यार्थीकै संस्थामार्फत जाँदा सजिलो र प्रभावकारी हुने ठानेर ‘मर्जिङ नेपसक्स’लाई जिम्मेवारी दिइएको बताउँछन् ।

‘जसरी गोर्खाका विषय आउँदा हामी भूपू गोर्खाकै संस्थाहरुमार्फत जान्छौं, विद्यार्थीको विषयमा पनि उनीहरुकै प्रतिनिधि संस्थामार्फत जाँदा प्रभावकारी हुन्छ भन्ने हाम्रो विश्वास हो’, प्रवक्ता आरनले भने, ‘हामी त विषय र समस्या हेरेर सम्बन्धित संस्थाहरुसंगै सहकार्य गर्ने हो ।’

‘एनआरएनए यूकेको भूमिकालाई उपेक्षा गरिएको त हैन ?’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘कसैले त्यस्तो बुझ्छ भने त्यो उल्टो बुझाइ हो । एनआरएनए भनेको नेपाल सरकारबाट मान्यताप्राप्त संस्था हो । यहाँ रहेका सबै संस्थाहरुको छाता संगठन नै एनआरएनए हो भन्ने हाम्रो बुझाइ छ । सोहिअनुसार दूतावासले उहाँहरुसंग सधै नजिक रहेर काम गर्दै आइरहेको छ । अहिलेको महामारीमा पनि दूतावास एनआरएनएसहित सबै संस्था र समुदायसंगै मिलेर काम गरिरहेको छ । हामीबाट कसैलाई उपेक्षा भएको छैन र कहिल्यै हुंदैन पनि ।’

नेपालीहरुको छाता संगठनको रुपमा एनआरएनएले अरु स-साना संघसंस्थाहरुलाई पनि सहयोग र हौसला प्रदान गर्ने आफूहरुको विश्वास रहेको आरनको भनाइ छ ।

दूतावाससंग सहकार्य रहन्छ : एनआरएनए यूके

एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराई

एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराईले पनि एनआरएनए यूकेले दूतावास, ‘मर्जिङ नेपसक्स’सहित बेलायतमा क्रियाशिल सबै संघसंस्थाको समन्वय र सहकार्यमै सहयोग अभियानलाई अघि बढाउने बताएका छन् ।

नेपाली लिंकसंगको कुराकानीमा भट्टराईले भने, ‘दूतावाससंग हामी सधै मिलेरै काम गर्दै आइरहेका छौं । अहिलेको जटिल अवस्थामा पनि हाम्रो सहकार्य र समन्वय जारी रहन्छ ।’

विद्यार्थीहरुलाई आफ्नै माध्यमबाट सहयोग गर्ने एनआरएनएको निर्णयलाई दूतावासको आव्हानविरुद्ध नबुझ्न उनले आग्रह गरे । ‘हामीले पहिले नै अभियान शुरु गरिसकेका छौं । यसका लागि कोष समेत संकलन भइरहेको छ । दूतावास, ‘मर्जिङ नेपसक्स’ मात्र होइन, बेलायतमा रहेका सम्पूर्ण संघसंस्थासंग हामीले नजिकको सहकार्य र समन्वयमा रहेर काम गर्ने कोशिस गर्नेछौं’, भट्टराईले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू