मंगलबार, चैत ६, २०८०
09:33 | १५:१८

बेलायतमा पीपीइ बिनै खटिएका छन् स्वास्थ्यकर्मी

नेपाली लिङ्क अप्रिल १३, २०२०

लन्डन । कोभिड १९ विरुद्ध अग्रमोर्चामा लडिरहेका १९ स्वास्थ्यकर्मीको दुःखद निधन भएको छ । बिरामी बचाउन उनीहरु दिनरात खटिए तर आफैं यसको शिकार भए । फ्रण्टलाइनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) नभएको गुनासो गरिरहंदा यो मानवीय क्षति बेहोर्नु परेको हो ।

ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककले अहिलेसम्म कोरोना संक्रमणका कारण एनएचएसका १९ जना स्वास्थ्यकर्मीको निधन भएको जनाएका छन् ।

ब्रिटिश मेडिकल एसोसिएसनले एनएचएसका स्वास्थ्यकर्मीहरुसंग अझै पर्याप्त पीपीइ नभएको जनाएको छ । पर्याप्त उपकरण बिना नै कोरोना संक्रमित बिरामीहरुको उपचार गरेर स्वास्थ्यकर्मीहरुले आफ्नै जीवन खतरामा पारिरहेको एसोसिएसनको भनाइ छ ।

लन्डनस्थित वाटफोर्ड जनरल अस्पतालमा कन्सल्टेन्ट फिजिसियन एवं एक्युट मेडिसिन डिपार्टमेन्टमा क्लिनिकल डाइरेक्टर डा. मोहन थापा कोभिड १९ 
विरुद्ध खटिएका फ्रण्टलाइनर चिकित्सक हुन् ।

उनले पर्याप्त स्क्रब, मास्क, प्रोटेक्टिभ आइसिल्ड जस्ता सामग्री पाउन संघर्ष भइरहेको बताए ।

स्वास्थ्यमन्त्री हयानककले ब्रिटेनमा सबै स्वास्थ्यकर्मीहरुलाई पुग्ने पीपीइ रहेको बताउंदै अनावश्यक प्रयोग नगर्न आग्रह गरेपछि आलोचित भएका थिए ।

रोयल कलेज अफ नर्सिङले पीपीइ बढि प्रयोग गरिएको तर्कलाई इन्कार गरेको छ । चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरुको जीवन भन्दा ठूलो अरु नहुने उक्त निकायले बताएको छ । गृहमन्त्री प्रीति पटेलले शनिबारको प्रेस ब्रिफिङमा पीपीइ नपुगेको भन्ने समाचारले आफू दुःखी भएको बताउंदै क्षमा मागेकी थिइन् । विश्वभर फैलिएको महामारीले पीपीइ अभाव बढेको बताउंदै गृहमन्त्री पटेलले ब्रिटिश सरकार यो समस्या समाधानका लागि काम गरिरहेको पनि प्रष्ट्याएकी थिइन् । उनले सार्वजनिक सेवामा खटिएका प्रहरी, जेल कर्मचारी र अग्नी नियन्त्रकहरुका लागि १५ लाख पञ्जा र मास्क उपलब्ध गराइरहेको पनि जनाइन् ।

सरकारले आवश्यक पीपीइ उपलब्ध गराउन सेना नै परिचालन गरेको छ । अहिलेसम्म महामारी शुरु भएयता बेलायतभर ७६१ मिलियन पीपीइ आपूर्ति भइसकेको सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ । यसमा १५८ मिलियन मास्क, १३५ मिलियन एप्रोन र ३६० मिलियन पञ्जा पनि समावेश छन् ।

२४ सै घण्टा मिलिट्री अप्रेसनमार्फत आवश्यक ठाउंमा पीपीइ उपलब्ध गराउन सरकार क्रियाशिल छ । अहिले बर्बरी, रोल्स रोयस, म्याकलरेन, इनियोस्, डियगो जस्ता ठूला कम्पनीहरुले गाउन, भाइजर, हयाण्ड हाइजिन आदि सामग्री उत्पादन गरिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू