शुक्रबार, वैशाख १४, २०८१
22:02 | ०२:४७

नेपालमै रोकिएका ४ हजार ४६ विदेशी स्वदेश फिर्ता

सिबी अधिकारी/रासस अप्रिल १२, २०२०

‘लकडाउन’ का कारण नेपालमा रोकिएका ४ हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् ।

काठमाडौँ, ३० चैत- देशभर ‘लकडाउन’ जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका ४ हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज ‘चार्टर्ड’ गरी स्वदेश फिर्ता लगेका हुन् । अध्यागमन विभागका अनुसार चैत १४ देखि २९ गतेसम्म विभिन्न ११ देशले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फिर्ता लगेका हुन् ।

अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले लकडाउनको अवधिमा विभिन्न मुलुकले आफ्ना ४ हजार बढी नागरिक उद्धार गरी घर फिर्ता लगेको जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी जर्मन सरकारले एक हजार २ सय ३ जना नागरिक फिर्ता लगेको छ । जर्मनीले चैत १४ गते ३ सय ७, चैत १५ गते ३ सय ५, चैत २२ गते ३ सय ७ र चैत २६ गते २ सय ८६ नागरिकलाई स्वदेश फिर्ता लगेको छ ।

त्यसैगरी फ्रान्सले चैत १५ गते र चैत २२ गते दुई उडानमार्फत ६ सय ८ नागरिकलाई नेपालबाट फिर्ता लगेको छ । अमेरिकाले पनि चैत १८ र चैत २३ गते दुईवटा उडानमार्फत नेपालमा रोकिएका आफ्ना ६ सय ५ नागरिकको उद्धार गरेको छ । बेलायतले चैत २६ र २८ गते दुई उडानमार्फत ५ सय नागरिक लगेको छ ।

अष्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी २ सय ५७ नागरिक स्वदेश लगेको छ । नेपाल एयरलाइन्सको चैत १९ गतेको चार्टर उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । जापानले पनि नेपाल एयरलाइन्सकै वाइड बडी जहाज चार्टर्ड गरी चैत २८ गते १ सय ९३ नागरिक स्वदेश लगेको छ । क्यानाडाले कतार एयरवेजको चैत २९ गते जहाजमार्फत २ सय ७ नागरिक लगेको छ । त्यस्तै चैत २२ गते मलेसियाले ६६ र चेक रिपब्लिकनले १सय २ नागरिक घर फर्काएका छन् भने चैत २० गते नेदरल्याण्डले १ सय २४ नागरिक स्वदेश फर्काएको छ ।

नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् । लुक्ला, चितवन, पोखरा, मुस्ताङलगायत गन्तव्यबाट पर्यटकलाई काठमाडौँमा जम्मा गरी उनीहरुको मुलुक फर्काइएको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले नेपालका विभिन्न गन्तब्यमा रोकिएका पर्यटकको उद्धार गरी काठमाडौँसम्म ल्याएर उनीहरुको मुलुक फर्काउन सहजीकरण गरिरहेको बताए । उनले नेपालमा अझै कति पर्यटक छन् भन्नेबारे अध्ययन भइरहेको जानकारी दिए । बोर्डले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरबारे ‘अनलाइन सर्भे’को काम पनि शुरु गरिएको जनाइएको छ ।

नेपालमा कोभिड–१९को सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । विभिन्न चरणमा गरेर वैशाख ३ गतेसम्म लकडाउनको अवधि थपिएको छ । गत चैत १० देखि १८ गतेसम्म मुलुकभित्र प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू