मंगलबार, वैशाख ११, २०८१
12:53 | १७:३८

कोरोनाको संक्रमण लुकाउँछन् बेलायतका नेपाली

नेपाली लिङ्क अप्रिल ११, २०२०

बेलायतमा शनिबारसम्ममा कोरोनाबाट ज्यान गुमाएको पुष्टी भएका र सार्वजनिक गरिएका नेपालीको संख्या ७ पुगेको छ ।

लण्डन । मार्चको अन्तिम साता लण्डनको ह्यारो क्षेत्रमा बस्दै आएका एक ७५ वर्षीय पूर्व गोर्खाको निधन भयो । अप्रिलको पहिलो साता ‘स्याण्डहर्स्ट’मा बस्ने ७६ वर्षीय अर्का पूर्व गोर्खा पनि बिते । कोरोना भाइरसको संक्रमण भएको आशंकामा सुरुमा ‘आइसोलेसन’ बसेका र पछि अवस्था कमजोर बनेर अस्पताल पुगेका दुवै जनाको उपचारकै क्रममा निधन भयो ।

यी दुवै ‘केस’लाई नजिकबाट जान्ने मृतकका आफन्त र ईष्टमित्रले कोरोनाकै कारण उनीहरुको मृत्यु भएको बताउँछन् । तर मृतकका आफ्नै परिवार भने कोरोनाकै कारण आफ्नो परिवारका सदस्यको मृत्यु भएको भन्न हिच्किचाउँछन् ।

बेलायतमा शनिबारसम्ममा कोरोनाबाट ज्यान गुमाएको पुष्टी भएका र सार्वजनिक गरिएका नेपालीको संख्या ७ पुगेको छ । तर परिवारले लुकाएका र सार्वजनिक नभएका अन्य ‘केस’ पनि त्यति नै संख्यामा हुनसक्ने अनुमान गरिएको छ ।

लण्डनस्थित नेपाली दूतावासले शनिबार बिहानसम्म बेलायतमा ७ नेपालीको मृत्यु भएको , ७ जना संक्रमित भएर अस्पतालमा उपचार गराइरहेको र अरु करिब ३० जना ‘जीपी’को सल्लाहमा सेल्फ आइसोलेसनमा बसिरहेको जानकारी आफुसंग रहेको जनाएको छ ।

तर, धेरै नेपालीले संक्रमण लुकाउन खोज्ने गरेको अनुभव दूतावासका प्रवक्ता शरदराज आरनसंग छ । ‘हामीसंग त जसले भन्नुहुन्छ, त्यहि तथ्यांक मात्र उपलब्ध छ । नेपालीको मात्रै विवरण लिन सकिने अरु कुनै च्यानल छैन’, आरनले नेपाली लिंकसंग भने, ‘कतिपयले संक्रमणको कुरा अरुसंग शेयर गर्न नचाहेको हामीले पाएका छौं । त्यसैले बाहिर आएभन्दा पनि थप संख्याका नेपाली प्रभावित रहेको अनुमान गर्न सकिन्छ ।’

कोरोना प्रभावितका लागि भनेर एनआरएनए यूकेले केहि सातादेखि हेल्पलाइन सञ्चालनमा ल्याएको छ । ‘हेल्पलाइनमा फोनहरु आइरहेका छन् । धेरैजसो समस्यामा परेका विद्यार्थी र गोर्खाहरुले फोन गर्नुभएको छ’, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ भन्छिन्, ‘संक्रमित भएर घरमै आइसोलेसनमा बसेका कैयौंले पनि फोन गर्नुहुन्छ, हाम्रो सम्पर्कमा रहेका नेपाली डाक्टरहरुसंग सल्लाह लिन खोज्नुहुन्छ । तर उहाँहरुमध्ये धेरैले आफ्नो परिचय गोप्य राखिदिन आग्रह गर्नुहुन्छ ।’

नेप्लिज डक्टर्स एशोसिएसन यूकेका अध्यक्ष डा रमेश खोजु पनि बेलायतका संक्रमित नेपालीहरुको यकिन तथ्यांक पाउन नसकिएको बताउँछन् । तर मिडियामा आएको संख्याभन्दा धेरै नै नेपाली संक्रमित बनेको उनको पनि अनुमान छ ।

बेलायतको नेश्नल हेल्थ सर्भिस (एनएचएस) मा झण्डै ४० वर्ष सेवा गरेका मनोचिकित्सक डा चुडाबहादुर कार्की भने संक्रमण लुकाउनुभन्दा सार्वजनिक गर्नु नै बढि हितकर हुने बताउँछन् । डा कार्की भन्छन् , ‘धेरैले आफुलाई संक्रमण भएको भन्न लज्जा र हिनताबोध गर्ने गरेको देखिन्छ । तर आफ्नो समस्या लुकाएर राख्दा नजिकका अरुलाई पनि सार्न सक्ने जोखिम झन् बढ्ने खतरा रहन्छ । आफ्नो कुरा खुलस्त पार्दा परिवारलाई मात्र नभएर सिंगो समुदायलाई पनि सचेत बनाउन सकिन्छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू