सोमबार, कार्तिक १९, २०८१
11:03 | १६:४८

कोरोनाको कहरः संसारलाई ढाकेको कालो बादल

फडिन्द्र भट्टराई अप्रिल ८, २०२०

फडिन्द्र भट्टराई

अहिले संसार कोरोनाको भयावह स्थितिबाट गुज्रिरहेको छ । अदृश्य भाइरसको कालो बादलले संसारलाई ढाकेको छ । मान्छेको चलायमान दैनिकी र सिंगो धर्ती नै टक्क अडिए जस्तो भएको छ । एकातिर रोगले संक्रमण गर्लाकी भन्ने सन्त्रास छ भने अर्कोतिर मान्छेको काम र दाम संगै माम पनि रोकिने अवस्थामा पुगेको छ । सर्वशक्तिमान विकसित देशहरु पनि कतै यो भाइरससंगको युद्धमा घुंडा टेक्छन् कि जस्तो भान हुंदैछ । सृष्टिका सबै प्राणीहरु आजाद छन् तर मानव मात्र वन्दीको अवस्थामा पुगेको छ । यो सन्त्रासले सम्पूर्ण मानव जगतलाई जीवन मृत्युको लडाईंमा वर्गविहीन रुपमा एक ठाउंमा उभ्याइदिएको छ । वर्तमानको संकट टरिहाल्यो भने पनि यसले निम्त्याएको परिणतिमा कसरी बांच्न सकिएला भन्ने चिन्ता पनि संगसंगै छ ।

स्थिति भयावह बन्दै गएको कुरामा दुईमत छैन् । तर यो भाइरस आक्रमणको अन्त्य हुनेछ र हाम्रो दैनिकी छिटै यथास्थितिमा फर्किने छ भन्ने कुरालाई हामीले अहिले आत्मसात गर्न महत्वपूर्ण छ । कोरोना संक्रमण सकेसम्म हुन नदिने हो तर यदि भइहाल्यो भने यस संगको युद्ध हामीले हाम्रै मनोवललाई उच्च पारेर जित्न सकिने कुरा अत्यन्तै मननयोग्य छ ।

अहिलेको संत्रासले निम्त्याएको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै हाम्रो मनोवैज्ञानिक अवस्थिति हो । मनोचिकित्सकहरुका अनुसार मान्छेहरुमा त्रासको दृश्य अदृश्य प्रभाव हाम्रो मनोविज्ञानमा थपिंदै जांदा यसले रोगसंग लड्ने हाम्रो क्षमतामा ह्रास ल्याइरहेको छ । आत्मबल कमजोर हुंदा हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर बन्दै जान्छ र अन्ततः भाइरस संगको लडाइंमा हाम्रो शरीरले हार खाने सम्भावना रहन्छ । अरु भाइरसहरुसंग जस्तै यो भाइरससंग प्रत्याक्रमण गर्ने पनि हाम्रो शरीर नै हो । यसको कुनै औषधि छैन् । अस्पताल वा चिकित्सकहरुले सिकिस्त बनेका बिरामीहरुको शरीरलाई श्वासप्रश्वास जस्ता कुरामा सहजीकरण गर्दै प्रमुख अंगको संरक्षणमा सघाउ पुरयाउने मात्र हुन् । तसर्थ हामीले पहिले हाम्रो मन बलियो पार्नु परयो तत्पश्चात यो संगै जोडिएको हाम्रो शरीर पनि बलियो बन्दै जाने छ । अन्तत हामीले जित्ने छौं र भाइरसले हार्ने छ ।

हामीले तथ्यहरुलाई केलाएर हेरयो भने पनि रोग लागी सकेपछि अथवा नलाग्दैको दुवै अवस्थामा जोखिमको अवस्था के कति छ भनेर लेखाजोखा गर्न सक्छौं । पहिलो कुरा त यो रोग आफै घरभित्र पस्ने छैन् यसलाई निम्त्याउने हामी आफैंले हो । बाहिरी मान्छेसंग संसर्ग नगर्न सकियो भने संक्रमणको सम्भावना झिनो अथवा न्यूननै हुने कुरा तथ्यहरुले बताइरहेका छन् । त्यहींनेर रोक्न सकियो भने त कुरै सकियो । तर अहिलेको अवस्था हेर्दा कुनै पोइन्टमा यसको संक्रमण अवश्यमभावी जस्तै देखिएको छ ।

अब यहांनेर कोरोनाको संक्रमण हुनु जीवनको अन्त्य नै हो कि भन्ने एउटा भ्रम हावी देखिन्छ जुन कदापि होइन् । पहिलो कुरा त अधिकांश मान्छेहरुले कोरोनाको संक्रमण भएको पत्तो पनि नपाई शरीरबाट यसको बहिर्गमन हुंदो रहेछ । अहिलेको अध्ययन अनुसार संक्रमणको लक्षण देखिएका प्रत्येक ५ जनाको परिक्षण गर्दा १ जनामा मात्र संक्रमणको पुष्टी भएको छ । यसरी हेर्दा सामान्य ज्वरो अथवा फ्लूको लक्षण देखिनुमा मात्रै कोरोना नहुने सम्भावना पनि धेरै भयो ।
त्यसैगरी उमेर फ्याक्टर र व्यक्तिको स्वास्थ्य अवस्था लाई प्रमुख रुपमा हेरिएको छ । उमेरको आधारमा ८० वर्ष काटेकहरुमा हकमा अधिकतम (झन्डै १५ प्रतिशत) मृत्युदर देखियो भने ६० वर्ष मुनिकाको हकमा भने मृत्युदर १.३ प्रतिशत मात्र रहेको तथ्यांक छ । त्यस्तै अर्कोतर्फ स्वास्थ्य अवस्था कमजोर हुनेलाई उमेर कम भए पनि टार्गेट हुन् सक्ने सम्भावनालाई पनि हेर्नु परयो । तर यो भनिरहंदा कतिपय अवस्थामा उमेर र स्वास्थ्य दुवै मापदण्डमा नपरेकाहरुले ज्यान गुमाएको सत्यलाई पनि नकार्न भने मिलेन । कुल औसतबाट सामान्य स्वास्थ्य अवस्थाको मृत्युदर १ प्रतिशत भन्दा तल देखाइएको छ ।

त्यस्तै संक्रमितहरुमा मृत्युदरको सालाखाला प्रतिशत लाई हेरयो भने ५ प्रतिशत भन्दा तलको आंकडा निस्किन्छ । तर, यो संसारका हरेक देशमा फरक फरक देखिएको छ । अहिलेसम्म संसारभर झन्डै १४ लाख संक्रमितमा ८३ हजारको मृत्यु भएको छ भने झन्डै भने ३ लाख मान्छे पूर्णतया निको भइसकेका छन् ।
यी तथ्यांकहरुको अधारमा तथा स्वास्थ्यकर्मी तथा सरकारी निकायले उपलब्ध गराएका आंकडा हेरेको र सुनेको भरमा स्वविश्लेषण गर्न सकिने कुराहरु हुन् । कोरोनाको प्रवृत्ति माथि स्वयं वैज्ञानिक तथा चिकत्सकहरु नै अध्ययनको क्रममा छन् । एउटा तथ्यहरुको निचोड निकाल्दै गर्दा कोरोनाले आफ्नो स्वरूप अर्कोतिर बदलिसकेको अवस्थाहरु सृजना भइरहंदा उनीहरु आफैं अन्यौलमा रहेको यथार्थलाई पनि यो संगै जोड्नु पर्ने हुन्छ । समग्रमा यी सबै कुराहरुलाई सारांशमा बुझ्दा कोरोनाको संक्रमण लाग्दैमा हाम्रो जीवनको अन्त्य हुन्छ भन्ने चाहिं होइन् ।

हाम्रो नेपाली समुदायकै कुरा गर्दा अधिकतम व्यक्तिहरु यसको संक्रमणलाई घरमै आइसोलेसनमा बसेर पार लगाइसक्नु भएको छ । न्यूनतम व्यक्तिहरु अस्पताल जानुपर्ने स्थिति सृजना भए पनि कोही सुधारोन्मुख र कोही पूर्णतया निको भइसक्नु भएकोछ । कसैको दुःखद मृत्यु पनि भएको छ ।
माथिका हरफहरुको आशय कोरोनाको संक्रमणलाई चिन्ता गर्नु पर्दैन भन्ने पक्कै होइन तर अनावश्यक चिन्ताले हाम्रो मनोवल कमजोर बनाउंदा परिणति खराब नबनोस् भन्ने हो ।

अहिलेको अवस्थामा हाम्रो शरीरलाई बलियो बनाइराख्न स्वास्थ्य जीवनशैली, शुद्धता जस्ता कुरामा ध्यान दिनु अत्यन्तै महत्वपूर्ण हुने देखिएको छ । हाम्रो खानपान, दैनिक रहनसहन, पर्याप्त निद्रा, ध्यान योग र मनको शुद्धताले हामीलाई तन्दुरुस्त बनाउंदै रोगसंग जुध्ने क्षमताको विकास गर्नेछ । हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई हाम्रो आहार विहार, जीवनशैली लगायत अनेकन कुराले निर्धारण गर्दछन् । तसर्थ जीवनशैलीको कुरा विशेष महत्वको हुने देखियो । यसका अलावा आफूलाई मनपर्ने पुस्तकहरु पढ्नु, आफ्नो रुचिअनुसार फिल्म, डकुमेन्ट्रीहरु हेर्ने, प्रविधिको प्रयोग गरेर साथीभाइसंग गफिनु जस्ता क्रियाकलाप उपयोगी हुनसक्छन् । अब के होला भनेर चिन्तित मुद्रामा बस्नु भन्दा हांसी खुशी रमाइलो गरी परिवारसंग बस्ने, सावधानीका हरेक उपायमा हेल्चेक्रयाईं नगर्ने यो नै आजको आवश्यकता हो । सके त यो भाइरसले हाम्रो शरीरमा संक्रमण गर्न नसकोस्, यदि घुसी हाल्यो भने पनि हाम्रो शरीरले यसलाई हराइदिने वातावरण सृजना गर्न सकिने छ । यसर्थ रोग नलाग्दै अथवा लागिसके पछि दुवै अवस्थामा उच्च मनोवल नै प्रमुख हुने देखियो ।

यो भाइरस विरुद्धको युद्धमा अहिले सिंगो संसार एकजुट भएर लागेको छ । वैज्ञानिकहरु ब्रेक थ्रु गर्न अहोरात्र लागिपरेका छन् । सबै देशका सरकारहरुले उपलब्ध साधन, स्रोत र शक्ति यथासम्भव परिचालन गरेर यसको रोकथाम र निराकरणमा क्रियाशिल छन् । तपाईं हाम्रो जीवन रक्षाको खातिर आफ्नो जीवनको प्रवाह नगरेर संसारका स्वास्थ्यकर्मीहरु यो युद्धमा होमिएका छन् । र उनीहरुले हामीलाई एउटै मन्त्र रटाइरहेका छन् ’कृपया घरमै बस्नुस्’ । यति ठूलो लडाईंमा स्वास्थ्य तथा सरकारी निकायले हामीलाई सुम्पेको जिम्मेवारी भनेको प्रमुख रुपमा व्यक्तिगत शुद्दता (Personal Hygiene) कायम गर्ने र भेटघाट बन्द गरेर घरमै बस्ने भन्ने नै हो । हामीले यसमा हेल्चेक्रयाइं गर्ने छुट छैन् ।

त्यसैगरी सामाजिक प्राणीको रुपमा हामी आफू मात्रै बांच्नु र सुरक्षित हुनुमा मात्रै हाम्रो कर्तब्य र दायित्व पुरा हुन सक्दैन् । तसर्थ आफू सुरक्षित रहंदै अप्ठ्यारोमा पर्नेहरुलाई सहयोग गर्नु र अरुलाई पनि बचाउने पहल गर्नु हाम्रो नैतिक धर्म हो । खास गरेर परदेशमा रहंदा आफ्नो समुदायको हितमा यथाशक्य योगदान गर्नुपर्ने कुरामा हामीहरुको ध्यान केन्द्रित हुनु एउटा अपरिहार्य अवस्था हो । यो समयमा अशक्तहरुको सहयोग गर्नु, आपत विपतमा सघाउनु र सामुदायिक एकता कायम राख्दै सबै मिलेर कठिन परिस्थितिको सामना गर्नु नै सर्वोत्तम उपाय हो । यस्तो सहयोग संघसंस्था संगठन वा व्यक्तिगत जुनसुकै तवरले पनि प्रदान गर्न सकिन्छ ।

संसारभर रहेका नेपालीहरुले भाइचाराको उच्चतम नमुना प्रदर्शन गरिरहेका छन् जुन अत्यन्तै सराहनीय छ । अब कुरा रह्यो कोरोना भाइरसको, यो त सूर्यको उज्यालोलाई छेकेर एकछिन मडारिएको कालो बादल हो । यसले आफ्नो घुम्टो नखोली सुख पाउने छैन् । त्यतिन्जेल सम्मको पीडा असह्य बन्दै गइरहेको छ । मुटु दरिलो पारेर यसको सामना गरौं । फेरी सूर्यको उज्यालो किरण संसारमा छाउने छ । हामी फेरी भेट्ने छौं । यसले हार्ने छ र हामीले जित्ने छौं ।

(लेखक पत्रकार तथा एनआरएनए यूके महासचिव हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू