शुक्रबार, वैशाख १४, २०८१
20:40 | ०१:२५

‘लकडाउन’ वैशाख ३ गतेसम्म

रासस अप्रिल ६, २०२०

काठमाडौँ, २४ चैत- सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको लकडाउन आगामी वैशाख ३ गते राति १२ बजेसम्मका लागि बढाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य क्षेत्रबाट कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय सीमानाका २०७७ साल वैशाख ३ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

यसअघि सरकारले संक्रमण रोगसम्बन्धी ऐन, २०२० अनुसार यही चैत ११ देखि १८ गते राति १२ बजेसम्मका लागि लकडाउन जारी गरेको थियो । सरकारले नाकाहरु बन्द गरे पनि ढुवानीलाई भने कायमै राखेको छ । त्यसैगरी स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न एक पटकका लागि रु एक हजार ५ सय एकमुष्ट सहयोग गर्ने निर्णय गरिएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।

मन्त्री डा खतिवडाले अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो,“निजी क्षेत्रका चिकित्सकहरुलाई सरकारी अस्पतालमा आएर सेवा दिन चाहेमा सरकारी सेवा सुविधाअनुसार नै मिलान गरेर काममा लगाउन सकिने व्यवस्था गरिने भएको छ । यदि निजी अस्पतालमै बसेरै कोरोनासम्बन्धी उपचारमा संलग्न हुने स्वास्थ्य स्वयंसेविकालाई पनि सरकारी सुविधा उपलब्ध गराउने निर्णय गरिएको छ ।”

सरकारले क्वारेनटाइनमा १४ दिन बसेका संक्रमणको सम्भावित भएका व्यक्ति रयापिड् डाइनाष्टिक टेष्ट गरेर छाड्ने तर त्यसपछि पनि सात दिन अनिवार्य होम क्वारेनटाइनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने भएको छ । होम क्वारेनटाइनमा बसे नबसेका बारे स्थानीय तहले निगरानी गर्नेछ ।

मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा नरहनुभएका मन्त्रीहरुलाई कोरोना रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्ने थप जिम्मेवारी दिएको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू