शुक्रबार, वैशाख १४, २०८१
23:42 | ०४:२७

कोरोना संक्रमित प्रधानमन्त्री जोनसन अस्पतालमा

नेपाली लिङ्क अप्रिल ५, २०२०

बेलायती प्रधानमन्त्री बोरिस जोनसन ।

लण्डन । कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पोजिटिभ देखिएर पछिल्लो १० दिनदेखि सेल्फ आइसोलेसनमा बसेका उनी आइतबार साँझ थप परिक्षणका लागि अस्पताल भर्ना भएका हुन् ।
अहिलेसम्म पनि लक्षणहरु कायम रहेका कारण डाक्टरको सल्लाहमा प्रधानमन्त्री अस्पताल गएको उनका प्रवक्ताले बताएका छन् । उनलाई अझै पनि ज्वरो नहटेको बताइएको छ ।
अस्पतालमा नियमित परिक्षणहरु गराइएपछि प्रधानमन्त्री सोमबार नै घर फर्किने सम्भावना रहेको बिबिसीले जनाएको छ ।
गत मार्च २७ तारिखमा कोरोनाको संक्रमण पोजिटिभ देखिएपछि प्रधानमन्त्री जोनसन १० डाउनिङ स्ट्रिटस्थित आफ्नो निवासमै आइसोलेसनमा बसेका छन् । यो अवधिमा घरबाटै काम गरिरहेका उनले अझै पनि सरकार प्रमुखको जिम्मेवारी सम्हालिरहेकै छन् । तर सोमबार बिहान बस्ने कोरोना विशेष मन्त्रीपरिषद बैठकको अध्यक्षता भने परराष्ट्रमन्त्री डोमिनिक रबले गर्ने बुझिएको छ ।
यसअघि मन्त्रीपरिषद बैठकमा समेत भिडियो कन्फरेन्समार्फत सहभागी हुंदै आएका थिए प्रधानमन्त्री जोनसन । पछिल्लोपटक विहिबार एनएचएस स्टाफहरुलाई धन्यवादस्वरुप ताली बजाउन डाउनिङ स्ट्रिटस्थित आफ्नो फल्याट्को बाहिर देखिएका उनले शुक्रबार सामाजिक सञ्जालमा भिडियो सन्देश शेयर गरेका थिए । जसमा उनले ज्वरो अझै कायम रहेका कारण आइसोलेसनलाई थप केहि समय निरन्तरता दिने बताएका थिए ।
यसअघि शनिबार मात्रै प्रधानमन्त्री जोनसनकी गर्भवती प्रेमिका क्यारी साइमण्ड्सले आफुलाई पनि एक सतादेखि लक्षणहरु देखा परेको जानकारी ट्वीटरमार्फत सार्वजनिक गरेकी थिइन् ।

उता, जोनसन नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानकक पनि कोरोनाको संक्रमणपछि एक साता आइसोलेसनमा बसेर केहि दिनअघि काममा फर्किएका छन् । सरकारका प्रमुख मेडिकल सल्लाहकार क्रिस ह्वीटी पनि लक्षणहरु देखिएपछि आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू