बुधबार, वैशाख १२, २०८१
12:20 | १७:०५

बेलायतमा मृत्यु हुनेको संख्या ५ हजार नजिक

नेपाली लिङ्क अप्रिल ५, २०२०

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार नजिक पुगेको छ ।

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार नजिक पुगेको छ । बेलायत सरकारको स्वास्थ्य विभागले सार्वजनिक गरेको आइतबार बिहान ९ बजेसम्मको तथ्यांकमा कुल मृत्यु ४ हजार ९ सय ३४ छ । पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेहरु ६ सय २१ जना छन् ।

अहिलेसम्म मृत्यु हुनेमध्ये इंग्ल्याण्डका सबैभन्दा बढि ४ हजार ४ सय ९४ छन् । स्कटल्याण्डमा २ सय २०, वेल्समा १ सय ६६ र नर्दन आयरल्याण्डमा ६३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, बेलायतमा अहिलेसम्म संक्रमित हुनेहरुको संख्या पनि बढेर ४७ हजार ८ सय ६ पुगेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा ५ हजार ९ सय ३ ले बढि हो । अहिलेसम्म बेलायतमा परिक्षण गरिएका १ लाख ४८ हजार जनामा भने भाइरसको संक्रमण ‘नेगेटिभ’ देखिएको छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डले शनिबार ११ हजार ८५ जनामा कोरोना भाइरसको परिक्षण गरिएको बताएको छ । बेलायत सरकारले यहि अप्रिल अन्त्यसम्ममा दैनिक १ लाख परिक्षण गर्न सक्ने गरी क्षमता बढाउने लक्ष्य लिएको छ ।

बेलायत सरकारको दैनिक कोरोना ब्रिफिङमा आइतबार स्वास्थ्यमन्त्री म्याट ह्यानककले सरकारले जारी गरेको ‘लकडाउन’ मा थप कडाई गर्न सकिने चेतावनी दिएका छन् । घरभित्रै बस्न सरकारले गरेको आग्रह र निर्देशन सर्वसाधारणले अवज्ञा गर्दै गए दैनिक एक घण्टा आउटडोर व्यायामका लागि दिइंदै आएको छुट पनि बन्द गराइने उनले बताए ।

यसैबीच, बेलायतमा कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएकी थप एक नर्सको संक्रमणका कारण निधन भएको छ । लिज ग्लानिस्टर नामकी ती नर्सको लिभरपुलस्थित रोयल लिभरपुल युनिभर्सिटी अस्पतालमा निधन भएको हो । यससंगै बेलायतमा अहिलेसम्म कम्तीमा ५ जना डाक्टर र ३ जना नर्ससहितका फ्रन्टलाइन स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न नसकेको भन्दै बेलायत सरकारको आलोचना हुंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू