शुक्रबार, वैशाख १४, २०८१
22:46 | ०३:३१

थाहा छैन युरोपमा कोरोना संक्रमित नेपालीको संख्या

नेपाली लिङ्क अप्रिल ५, २०२०


लन्डन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अहिले सबैभन्दा बढि प्रभावित छ युरोप । दिनहुं हजारौं मानिसको मृत्यु भइरहेको र दशौं हजार संक्रमित बढिरहेको युरोपमा रहेका नेपालीहरुको अवस्थाबारे भने ठोस जानकारी उपलब्ध छैन् ।

कैयौं युरोपेली देशमा अहिले नेपालीहरु पनि संक्रमित बनिरहेका छन् । कोरोनाकै संक्रमणबाट बेलायतमा दुई जना नेपालीको मृत्यु समेत भएको पुष्टी भइसकेको छ । तर, अहिले युरोपमा रहेका कति नेपाली संक्रमित छन् भन्ने तथ्यांक कसैसंग छैन् ।

बेलायतमा मात्रै सयौं नेपाली कोरोनाबाट संक्रमित भइसकेको आँकलन गरिएको छ । तर यहाँस्थित नेपाली दूतावाससंग कोरोना संक्रमित भएका नेपालीहरुको विवरण छैन् । ‘हामीसंग सिधै सूचना प्राप्त गर्ने कुनै माध्यम छैन् । संक्रमित हुनेहरुले पनि दूतावास वा समुदायलाई आफ्नो संक्रमणबारे जानकारी गराउन नखोजेको बुझिन्छ’, लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरन भन्छन्, ‘तर अहिले संक्रमित बनेर उपचार गराइरहेका र उपचार गराएर फर्किसकेका केहि नेपाली मात्रै हाम्रो सम्पर्कमा आउनुभएको छ ।’

कोरोनाका कारण विभिन्न समस्यामा पर्ने बेलायतका नेपालीलाई सहयोग गर्ने भन्दै एनआरएनए यूकेले एक हेल्पलाइन सञ्चालन गरेको छ । हेल्पलाइनका संयोजक एनआरएनए यूके सचिव जीत रानाभाटका अनुसार हेल्पलाइनमा विभिन्न सल्लाह र परामर्श लिन संक्रमित भइसकेका नेपालीहरु पनि आउने गरेका छन् । तर उनीहरुमध्ये धेरैले आफू संक्रमित बनेको सूचना समुदायलाई थाहा नहोस् भनेर गोप्य राख्न आग्रह गर्ने गर्छन् ।

युरोपमा धेरै नेपाली संक्रमित भएको देश हो पोर्चुगल । पोर्चुगलमा बस्ने पत्रकार हरिकृष्ण पन्थीका अनुसार शनिबारसम्म त्यहाँ १९ जना नेपालीमा संक्रमण पुष्टी भइसकेको छ । उनीहरुमध्ये स्वास्थ्यअवस्था गम्भीर रहने तीन जना अस्पतालमा छन् भने बाँकी घरमै ‘सेल्फ आइसोलेसन’ मा छन् । संक्रमितहरुसंग नजिकको सम्पर्कमा रहेका अरु थुप्रै नेपाली छन् । उनीहरुमा संक्रमणको आशंका भएपनि परिक्षण गराइएको छैन् । डाक्टरको सल्लाहमा उनीहरु आफैं ‘आइसोलेसन’ मा बसेका छन् ।

स्पेनस्थित नेपाली दूतावाससंग पनि अहिलेसम्म ७ जना नेपाली संक्रमित भएको जानकारी छ । उपनियोग प्रमुख हरिहरकान्त पौडेलका अनुसार थप तीन जना नेपाली अस्पताल भर्ना भएका छन्, तर उनीहरुमा संक्रमण पुष्टी भइसकेको छैन । अहिलेसम्म संक्रमित हुनेहरु सबै बार्सिलोना क्षेत्रका हुन्, जहाँ धेरै नेपाली छन् । कोरोनाबाट बढि प्रभावित कोतालानिया प्रान्तमा नेपालीहरुको बसोबास न्यून छ । त्यहाँ रहेका करिब ५ सय नेपाली अहिलेसम्म सुरक्षित छन् ।

‘यहाँको सरकारबाट सिधै सुचना प्राप्त गर्ने व्यवस्था छैन । हामीले यहाँको नेपाली समुदायसंग नियमित सम्पर्कमा रहेर नेपालीहरुको अवस्था बुझ्ने प्रयास गरिरहेका छौं’, उपनियोग प्रमुख पौडेलले भने ।

स्पेनमा संक्रमण पुष्टी भएका ७ नेपालीमध्ये ५ जना डिस्चार्ज भइसकेको र अस्पतालमा उपचाररत बाँकी २ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङले बताए ।

युरोपमा कोरोना संक्रमणबाट बढि प्रभावित इटाली, हल्याण्ड लगायतका देशमा भने अहिलेसम्म कुनै नेपाली संक्रमित भएका छैनन् । करिब १५ सय नेपालीको बसोबास रहेको इटालीका एनआरएनए उपाध्यक्ष छविलाल कँडेलले भने, ‘हामी लगभग सबै नेपालीसंग सम्पर्कमा छौं । सबैभन्दा बढि प्रभावित क्षेत्रमा रहेका नेपालीहरुसंग पनि कुरा भइरहेको छ । अहिलेसम्म कुनै नेपाली संक्रमित भएको छैन् ।’
करिब २ हजार नेपालीको बसोबास रहेको हल्याण्डमा पनि कोही नेपाली संक्रमित भएका छैनन् । नेदरल्याण्डमै बस्ने एनआरएनए युरोप संयोजक नारायण आचार्यले आफूहरु त्यहाँस्थित सबै नेपालीको सम्पर्कमा रहेको भन्दै अहिलेसम्म सबै सुरक्षित रहेको जानकारी दिए ।
नेदरल्याण्ड, बेल्जियम र लक्जेम्बर्ग हेर्ने बेल्जियमस्थित नेपाली दूतावाससंग पनि बेल्जियममा १ जना नेपालीबाहेक ती तीनवटै देशमा अरु नेपाली संक्रमित भएको जानकारी छैन् । राजदूत लोकबहादुर थापाले भने, ‘हामी यहाँको एनआरएनएसहित अन्य नेपाली संघसंस्था र समुदायको सहयोगमा नेपालीहरुको अवस्थाबारे जानकारी लिइरहेका छौं । बेल्जियममा एकजना संक्रमित हुनुभएको छ, उहाँको स्वास्थ्य अवस्था पनि सामान्य नै छ । अरु संक्रमित भइसकेको सूचना आएको छैन् ।’

कोरोना महामारीको केन्द्र बनेको युरोपमा सयौं नेपाली संक्रमित छन् । तर उनीहरुको यकिन तथ्यांक उपलब्ध छैन् । यहाँस्थित नेपाली दूतावासहरु पनि संक्रमित भएका नेपालीहरुको विवरण संकलन गर्न कठिनाई रहेको स्वीकार गर्छन् । यहाँका अस्पताल वा सरकारी निकायहरुबाट सिधै सूचना लिने व्यवस्था नरहेका कारण कति नेपाली संक्रमित छन् भन्ने विवरण प्राप्त नभएको उनीहरुको भनाइ छ । यहाँस्थित विभिन्न नेपाली संघसंस्था र स्थानीय नेपाली समुदायले खबर गरेका केसहरु मात्रै दूतावासको जानकारीमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू