शुक्रबार, वैशाख ७, २०८१
07:40 | १२:२५

सुरक्षित र संयमित रहनुहोस्, आवश्यक परे दूतावासलाई सम्झिनुहोस्: राजदूत

नेपाली लिङ्क अप्रिल २, २०२०

राजदूत डा दुर्गाबहादुर सुवेदी

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कोरोना भाइरस संक्रमणका कारण निम्तिएको विपतको बेला एकआपसमा सहयोग र सहकार्यका लागि आव्हान गरेका छन् । बेलायतका साथै आयरल्याण्ड र माल्टाका लागि समेत राजदूत रहेका डा सुवेदीले एक अडियो सन्देशमार्फत तीनवटै देशमा रहेका नेपालीहरुमा एकता, समझदारी, सदभावना र सहकार्यको निम्ति आग्रह गरेका छन् ।

‘विपतको यो समयमा बेलायत, आयरल्याण्ड र माल्टाबासी समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सुरक्षित र संयमित रहन एवम् एकजुट भइ एक अर्कालाई सद्भावना, सहभावना र सहयोग गर्नुहुन म हार्दिक अपील गर्दछु’, राजदूत डा सुवेदीले आग्रह गरेका छन्, ‘विशेष गरी वृद्ध उमेरका बुवाआमाहरु, विद्यार्थी भाइबहिनीहरु एवम् साना बालबालिकाहरुप्रति विशेष ख्याल गर्नुहुन पनि अनुरोध गर्न चाहन्छु ।’

आफू रहेका मुलुकहरुका सरकार र नेपाल सरकारले लागु गरेका नीति, नियम र निर्देशनहरु पालन गर्न पनि उनको अनुरोध छ ।

राजदूत डा सुवेदीको सन्देश:

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, नमस्कार !

विश्वव्यापारी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायत, आयरल्याण्ड र माल्टामा पनि प्रभाव पारेको कुरा हामी सबैलाई विदितै छ । यस महामारीको संक्रमण र प्रभावबाट बच्न हामी सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा सदाझैं एकता, समझदारी, सदभावना र सहकार्यको निम्ति हार्दिक अनुरोध गर्दछु । विपत्तिको यो घडीमा हामी सबै नेपालीहरुले आफु पनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने पवित्र भावना राख्नुपरेको छ । संकटको यो अवस्थामा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा परेको मनोवैज्ञानिक असर र समस्याहरुको बारेमा नेपाली राजदूतावास सचेत रहेको छ ।

नेपालबाट आइ विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरु, पर्यटक भिसामा आउनुभएका नेपालीहरु लगायत यहाँ स्थायी बसोबास गर्नुहुने वृद्धवृद्धाहरुका सुरक्षाका सम्बन्धमा नपाली राजदूतावास गम्भीर रहेको छ । संकटपुर्ण यस घडीमा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबीच सुचना आदानप्रदान, सम्पर्क, संवाद र समन्वय गर्न मेरो नेतृत्वमा नेपाली राजदूतावासले बेलायत, आयरल्याण्ड र माल्टामा समन्वय समिति गठन गरी कार्य गरिरहेको छ ।

विपतको यो समयमा बेलायत, आयरल्याण्ड र माल्टाबासी समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सुरक्षित र संयमित रहन एवम् एकजुट भइ एक अर्कालाई सदभावना, सहभावना र सहयोग गर्नुहुन म हार्दिक अपील गर्दछु । विशेष गरी वृद्ध उमेरका बुवाआमाहरु, विद्यार्थी भाइबहिनीहरु एवम् साना बालबालिकाहरुप्रति विशेष ख्याल गर्नुहुन पनि अनुरोध गर्न चाहन्छु ।
आफु रहेका मुलुकहरुका सरकार र नेपाल सरकारले लागु गरेका नीति, नियम र निर्देशनहरु पालन गर्नुहुन पनि म अनुरोध गर्दछु । यस घडीमा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सचेतना जगाउने तथा सहयोग गर्ने कार्यमा सक्रिय गैरआवासीय नेपाली संघ लगायत बेलायत, आयरल्याण्ड र माल्टामा सञ्चालित सबै नेपाली संघ, संस्था र समाजहरु एवम् स्वयमसेवक महानुभावहरुमा नेपाली राजदूतावासको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

बेलायत लगायत विभिन्न मुलुकहरुमा सञ्चालित सबै नेपाली सञ्चार माध्यमहरुले निर्वाह गर्नुभएको गहन र सकारात्मक भुमिकाको लागि नेपाली राजदूतावासको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु । अत्यावश्यक सम्पर्क, सुचना आदानप्रदान र समन्वयका लागि हामीले नेपाली राजदूतावास सातै दिन खुला राखेका छौं । शनिबार र आइतबार समेत हामीले राजदूतावासको सञ्चार सम्पर्क खुला गरेका छौं । अत्यावश्यक र जरुरी कार्यहरुको लागि सबै नेपालीहरुले सम्पर्क गर्न सक्नुहुनेछ ।

विपत्तिको यो घडीमा नेपाली राजदूतावास नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको साथमा छ र सधै रहनेछ भन्ने वचनवद्धता प्रकट गर्दै बेलायत, आयरल्याण्ड र माल्टामा रहनुहुने समस्त आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सुस्वास्थ्यको कामना गर्दै संयम, धैर्य र एकताका लागि पुनः अनुरोध गर्दछु । धन्यवाद ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू