शनिबार, वैशाख ८, २०८१
04:41 | ०९:२६

राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिका

रासस/एपी मार्च ३१, २०२०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया पुग्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्था रहेकोले उहाँहरुलाई सुरक्षा खर्च पनि उपलब्ध गराउन नसकिने जानकारी आइतबार दिनुभएको थियो ।

बेलायती राजकुमार ह्यारी दम्पत्ति अमेरिकाको क्यालिफोर्नियामा बस्न जान लाग्नुभएका बेला अमेरिकी राष्ट्रपतिले सो धारणा राख्नुभएको थियो । उहाँहरु क्यानाडाबाट लस एन्जलसहुँदै त्यसतर्फ जान लाग्नुभएको हो ।

राजकुमार दम्पत्ति क्यालिफोर्नियातर्फ लाग्ने क्रममा राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत सो कुराको जानकारी गराउनुभएको अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जानकारी दिएको छ ।

क्यानाडामा बस्दै आएको बेलायतका राजकुमार दम्पत्ति आफ्नो निजी विमानबाटै क्यानाडाबाट लस एन्जलस सिटी उड्नुभएको हो । क्यानाडा र अमेरिकाबीचको सीमा क्षेत्र बन्द गर्न लागेकोमा त्यसको केही दिन अघि उहाँहरु उड्नुभएको थियो ।

कोरोना भाइरसका कारण क्यानाडा र अमेरिकाबीचको सो राज्यको सीमा क्षेत्र बन्द गर्न लागिएको यसअघि नै समाचारमा आएको थियो ।

ह्यारी दम्पत्ति केही महिनादेखि क्यानाडामा बस्दै आउनु भएको  थियो । अहिले अमेरिकाको क्यालिफोर्निया पुगेको हो ।

उहाँहरुले अबको केही समयपछि देखि नै बेलायतको राजपरिवारको सदस्य नरहने घोषणा गरिसक्नुभएको छ । एक स्वतन्त्र र सामान्य नागरिकका रुपमा बस्न लाग्नुभएका उहाँहरुले आफ्नै विमानमा क्यालिफोर्निया जाने बताएपछि राष्ट्रपति ट्रम्पले आइतबार सो धारणा राख्नुभएको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले आइतबार ट्वीट गरी अमेरिका कोरोना भाइरसको प्रकोपमा रहेकोले बेलायतको राजदम्पत्तिलाई आफ्नो देशले सुरक्षाको प्रबन्ध गर्न नसक्ने बताउनुभएको अमेरिकी सञ्चारमाध्महरुले जनाएका छन् ।

साथै सो ट्वीटमा आफू बेलायतकी महारानी र संयुक्त अधिराज्यको महान साथी तथा प्रसंशक समेत रहेको पनि राष्ट्रपति ट्रम्पले उल्लेख गर्नुभएको छ ।

‘उहाँहरु अमेरिका आउनका लागि क्यानाडा छोडेको भन्ने मैले थाहा पाएको छु, म यो कुरा स्पष्ट गर्न चाहन्छु कि हामीले उहाँको सुरक्षा खर्चको व्यवस्थापन गर्न सक्नेछैनौँ’– राष्ट्रपति ट्रम्पको ट्वीटमा भनिएको छ ।

उहाँको यो अभिव्यक्तिपछि राजदम्पत्तिका प्रवक्ताले भने बेलायती राजदम्पत्तिले अमेरिकासँग सुरक्षा सहयोगको याचना नगरेको स्पष्ट पार्नुभएको थियो ।

उहाँले एक विज्ञप्ति प्रकाशन गरेर अमेरिकाको तर्फबाट राजदम्पत्तिले सहयोगको याचना नगरेको र आफैले सुरक्षा खर्चको व्यवस्थापन गर्ने तयारी पहिले नै गरिसकेको बताउनुभएको थियो ।

मेघन अमेरिकाको लस एन्जलस सहरमा हुर्किनुभएको हो । अहिले पनि उहाँकी आमा सोही शहरमा बस्दै आउनुभएको छ । त्यसैले उहाँहरु लस एन्जलस पुग्नुभएको हो ।

त्यहीँबाट उहाँहरु सोमबार नै क्यानिफोर्निया लाग्नुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू