शुक्रबार, वैशाख ७, २०८१
04:57 | ०९:४२

कोरोना संकटबाट प्रभावित विद्यार्थीलाई दूतावासमा सम्पर्क राख्न आव्हान

नेपाली लिङ्क मार्च ३१, २०२०

लण्डनस्थित नेपाली दूतावास

लन्डन । लण्डनस्थित नेपाली दूतावासले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न संकटमा समस्यामा परेका विद्यार्थीहरुलाई दूतावासमा सम्पर्क राख्न आव्हान गरेको छ । बेलायतमा अध्ययनका लागि आएका कैयौं नेपाली विद्यार्थी समस्यामा परेको चर्चाबीच दूतावासले उनीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

दूतावासले मंगलबार एक सूचना जारी गर्दै अत्यावश्यक अवस्थामा सम्पर्क राख्न आफ्नो इमेल र टेलिफोन नम्बर उपलब्ध गराएको छ ।साथै, यो समय सुरक्षित, संयमित र अनुशासित रहन समेत विद्यार्थीहरुलाई दूतावासले अनुरोध गरेको छ ।

विद्यार्थीहरुले दूतावासमा सम्पर्क गर्दा नेपालमा आफ्नो अभिभावकको नाम, सम्पर्क इमेल र टेलिफोन नम्बर, आफूलाई बेलायतको विश्वविद्यालयमा पठाउने शैक्षिक कन्सल्टेन्सीको नाम, इमेल र सम्पर्क नम्बर एवं सम्बन्धित विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने पदाधिकारीको नाम, इमेल र सम्पर्क नम्बर समेत उपलव्ध गराउन आग्रह गरिएको छ ।

दूतावासको सेवा सुचारु

कोरोना संक्रमण फैलिंदै गएपछि बेलायत सरकारले ‘लकडाउन’ नै घोषणा गरेपछि अहिले सिंगो देश पूरै ठप्प छ । अत्यावश्यक सेवाबाहेक सबैतिर बन्द रहंदा समेत लण्डनस्थित नेपाली दूतावास भने सुचारु नै छ ।

विपदको बेला समस्यामा पर्न सक्ने हरेक नेपालीको लागि आवश्यक सेवा प्रदान गर्न भन्दै राजदूत डा दुर्गाबहादुर सुवेदीले दूतावास सामान्य अवस्थामाझैं सुचारु राखेका छन् ।

‘हामी अरु बेलाजस्तै सोमबार देखि शुक्रबार ९ देखि ५ बजेसम्म दूतावास खुला छ । अहिलको संकटपूर्ण अवस्थालाई ध्यानमा राखेर हामी शनिबार र आइतबार समेत सेवामा हाजिर छौं ।हरेक दिन बेलुका ११ बजेसम्म हामी टेलिफोन उठाउछौं । आवश्यक पर्यो भने हामीलाई फोन गर्नुहोस्, हाम्रो तर्फबाट सम्भव हरेक सहयोगका लागि हामी तयार छौं’, दूतावास स्रोतले भन्यो ।

हेरौं दूतावासको सुचना:

नेपाली राजदूतावास, लण्डनको अत्यन्त जरुरी सूचना:

संयुक्त अधिराज्य (वेलायत) मा कोरोना भाइरसको संक्रमणमा वृद्धि भई नेपालीहरु पनि प्रभावित भैरहेको व्यहोरा यहाँहरु सबैमा विदितै छ । नेपालबाट आई वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले यस घडीमा सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासको निम्न सम्पर्क नम्बर र इमेलमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

राजदूतावासको इमेल : eon@नेपेम्बस्स्य।org।uk,
उप—नियोग प्रमुख, श्री शरदराज आरण, मोवाइल नम्बर 07460595188
तृतीय सचिव, श्री तेजेन्द्र रेग्मी, मोवाइल नम्बर, 07427330837

विद्यार्थीहरुले राजदूतावासमा सम्पर्क गर्दा नेपालमा आफ्नो अभिभावकको नाम, सम्पर्क इमेल र टेलिफोन नम्बर, आफूलाई वेलायतको विश्वविद्यालयमा पठाउने शैक्षिक कन्सल्टेन्सीको नाम, इमेल र सम्पर्क नम्बर एवं सम्बन्धित विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने पदाधिकारीको नाम, इमेल र सम्पर्क नम्बर समेत उपलव्ध गराइदिनु हुन अनुरोध गरिन्छ ।

संयुक्त अधिराज्य (वेलायत) का गैरआवासीय नेपाली संघ लगायत सबै नेपाली संघ, संस्था र समाजहरु एवं समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुले कोरोना भाइरसको संक्रमणमा वृद्धि भैरहेको परिप्रेक्ष्यमा एक आपसमा सूचना आदानप्रदान, समन्वय र सहयोग गरिरहनु भएकोमा राजदूतावास यहाँहरु सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

हाल नेपालबाट आई वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुमध्ये केही विद्यार्थीहरुमा खानाको व्यवस्थापन लगायतका समस्याहरु परेको बुझिन आएको परिप्रेक्ष्यमा उहाँहरुलाई सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिसकिएको छ । उहाँहरुको समस्या समाधानकोलागि यस राजदूतावासले वेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको छ । वास्तविक समस्यामा परेका र भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीहरुलाई आर्थिक लगायत अन्य सहयोगहरु उपलव्ध गराउनु हामी सबैको मानवीय कर्तव्य र जिम्मेवारी रहेको सन्दर्भमा विद्यार्थीहरुलाई स्वेच्छाले सहयोग गर्न चाहने इच्छुक महानुभावहरुले यस राजदूतावासको निम्न सम्पर्क नम्बरमा फोन वा इमेलमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।

राजदूतावासको इमेल : [email protected],

उपनियोग प्रमुख, श्री शरदराज आरण, मोवाइल नम्बर 07460595188

इच्छुक महानुभावहरुलाई सहयोग गर्नुपर्ने सम्बन्धित विद्यार्थीको नाम र सम्पर्क नम्बर उपलव्ध गराई सम्बन्धित व्यक्तिसंग सम्पर्क गराई सहयोग गर्ने र सहयोग प्राप्त गर्ने महानुभावको विवरण राजदूतावासमा अभिलेखन गरी उचित समयमा विवरण सार्वजनिक गरी विशेष धन्यवाद व्यक्त गरिने व्यहोरा अवगतार्थ अनुरोध गरिन्छ ।

मिति: २०७६ चैत्र १८-३१ मार्च २०२०

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू