शुक्रबार, वैशाख ७, २०८१
12:06 | १६:५१

नक्कली भूटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

रासस मे २४, २०२३

काठमाडौं, १० जेठ–सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।

उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

मुद्दा दर्ता गरेपछि जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले भने, “३० जनाविरुद्ध मुद्दा दर्ता भएको र १६ जना पक्राउ परिसकेका छन्, फरार रहेका १४ जनाको हकमा अदालतबाट म्यादपूर्जी जारी गरेर खोजिन्छ र उनीहरुको सम्पत्ति रोक्का हुन्छ ।” अदालतमा अब प्रारम्भिक चरणमा बयान हुन्छ । त्यसपछि थुनछेक बहस हुन्छ ।

दर्ता गरिएको मुद्दामा निजहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी गरिएको छ । सार्वजनिक पदधारण गरेका व्यक्तिको हकमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरिनेछ ।

जिल्ला न्यायाधिवक्ता खत्रीका अनुसार निजहरूविरुद्ध रु २७ करोडभन्दा बढीको बिगो छ भने कैद सजाय ठगी र किर्तेमा सात वर्ष कैद, राज्यविरुद्धको कसुरमा पाँच वर्ष कैद र जरिवाना पनि छ । सङ्गठित र एकीकृत कसुरमा कानूनअनुसार गरिनेछ ।

उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखिएको छ ।

अन्य पक्राउ परेकामा भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक, इन्द्रजित राईका छोरा नीरजसहित १४ जना फरार छन् । उक्त घटनामा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू