शनिबार, वैशाख ८, २०८१
13:31 | १८:१६

सन्दीपलाई धरौटीमा छाड्न अदालतको आदेश, शुक्रबार रिहा हुने

नेपाली लिङ्क जनवरी १२, २०२३

काठमाडौं । बलात्कार मुद्धामा थुनामा रहेका क्रिकेटर सन्दीप लामिाछानेलाई रिहा गर्न उच्च अदालतले आदेश गरेको छ ।   

उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएसँगै उनी शुक्रबार छुट्ने भएका हुन् ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो ।

अदालतले लामिछानेसँग २० लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यस्तै, उनलाई विदेश यात्राबाट पनि रोक लगाइएको छ।  

सन्दीपनिकट स्रोतले शुक्रबार २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने तयारी रहेको जनाएको छ।

सन्दीपविरुद्धको नाबालिग युवती बलात्कारको मुद्धा काठमाडौँ जिल्ला अदालतमा विचाराधिन छ। उनी तीन महिनाभन्दा अघिदेखि थुनामा छन् । गत कात्तिक १६ गते जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो ।

लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिका नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ गते काठमाडौँ अदालतमा मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आएका छन् । प्रहरीले गत असोज २० गते लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू