शुक्रबार, चैत १६, २०८०
22:16 | ०४:०१

माधव-झलनाथ समूहको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि

रासस मार्च १६, २०२१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा–एमाले) को माधव कुमार नेपाल समूहले चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी गराउने आयोजित पत्रकार सम्मेलनमा सहभागी । तस्वीर- रोशन सापकोटा, रासस

काठमाडौं । नेकपा (एमाले) को झलनाथ–माधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । ललितपुरका आज आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको जानकारी दिइएको हो । भेलाकोे सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
उक्त समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको घडीमा धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकमा आग्रह गरे । राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुन गइरहेको उनले जानकारी दिए ।
नेता भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणात्र प्रस्तुत र टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल र पारित गरिने उल्लेख छ ।
भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, सङ्घ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहनेछ ।
पार्टी एकता विरोधी, विधान प्रतिकूल र एकलौटी कदमले सिर्जना गरेका पार्टी एकताका चुनौतीलाई एकताबद्धरुपमा प्रतिवाद गर्दै असफल पार्न आम पार्टी पङ्क्तिलाई आह्वानसमेत गरिएको छ ।
विज्ञप्तिमा जनताको बहुदलीय जनवादको मूल्य र मान्यताको रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा विकास गर्नका लागि सबै नेता, कार्यकर्ता र आम जनमुदायको एकताबद्ध प्रयास यसबेला थप खड्किएको उल्लेख छ ।
सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) पुनःस्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनःस्थापना नभई सिङ्गो पार्टीको पुनःस्थापना भएकाले त्यसअनुसार पार्टी पंक्तिलाई परिचालन गरेर मात्र पाटी बलियो हुने उक्त समूहको ठहर छ ।
एमाले पूर्ववत अवस्थामा फर्किनु भनेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीको स्वतः पुनःस्थापना भएको र सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेकासमेत विज्ञप्तिमा छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू