शनिबार, वैशाख ८, २०८१
03:22 | ०८:०७

बेलायतबाट २५ लाखको महिला सशक्तिकरण अक्षय कोष घोषणा

नेपाली लिङ्क मार्च ९, २०२१

लन्डन । नेपालमा महिला सशक्तिकरणको क्षेत्रमा सहयोग पुर्याउने उद्धेश्यले बेलायतबाट २५ लाख रुपियाको अक्षय कोष घोषणा गरिएको छ ।

१ सय ११ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा प्रवासी नेपाली एकता मञ्च यूकेले बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको स्मृतिमा महिला सशक्तिकरण अभियान अक्षय कोष स्थापनाको घोषणा गरेको हो ।

मञ्चले सोमबार आयोजना गरेको नारी दिवस कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारकी कृषि तथा पशुपंछी विकासमन्त्री पद्मा अर्यालले कोषको शुभारम्भ गरिन् ।

कोषकी संयोजक एवम् मञ्चकी उपाध्यक्ष सरस्वती केसीले बेलायतबाट शुरु गरिएको कोषमा विश्वका अन्य मुलुकमा रहेका प्रवासी नेपालीहरुलाई पनि सहभागी गराइने बताइन् ।

कोषमा सुरुआती चरणमै बेलायतबाटै ८ लाख रुपिया संकलन भइसकेको बताउँदै उनले बेलायत र अन्य मुलुकबाट समेत कोषमा सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेको जानकारी दिइन् । संकलित कोषबाट केही रकम भागरथीको परिवारलाई समेत हस्तान्तरण गर्ने योजना छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री अर्यालले प्रवासमा बस्ने नेपालीहरुले मातृभूमिको सहयोगका लागि गरेको पहल प्रशंसनीय रहेको धारणा व्यक्त गरिन् । पछिल्लो समय महिला सशक्तिकरणको सवालमा देशले ठूलो प्रगति गरेको जनाउँदै उनले विश्वलाई नै सकारात्मक सन्देश प्रवाह गर्न नेपाल सफल रहेको बताइन् ।

लामो समयदेखि उत्पीडनमा परेका नेपाली महिलालाको उत्थानका लागि संविधानमै व्यवस्था भइसकेको तर व्यवहारमा पूर्ण कार्यान्वयन हुन अझै बाँकी रहेको मन्त्री अर्यालको भनाइ थियो ।

कार्यक्रममा सांसद एवम् अनेमसंघकी केन्द्रीय सचिव सुजाता शाक्य, सांसद विन्दा पाण्डे, ओमानस्थित नेपाली राजदूत शर्मिला ढकाल पराजुली, अधिकारकर्मी एवम् ओरक नेपालकी संस्थापक अध्यक्ष डा रेणु अधिकारी, मानवअधिकार आयोगका पूर्व आयुक्त गौरी प्रधान, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल लगायतका अतिथिले मन्तव्य दिएका थिए ।

उनीहरुले महिला सशक्तिकरणका क्षेत्रमा नेपालले हालैका वर्षमा हासिल गरेको प्रगति सकारात्मक रहेपनि नेपाली महिलाहरु अझै पनि बलात्कार, हत्या जस्ता जघन्य अपराधहरुको शिकार भइरहनु दुखद रहेको बताए । महिलाहरुको समानता र सशक्तिकरणको लागि नीतिगत रुपमा भएका व्यवस्थालाई कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता उनीहरुले औल्याए ।

त्यस अवसरमा इजरालयका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको भिडियो सन्देश प्रदर्शन गरिएको थियो । कार्यक्रमका सबै अतिथि र सहभागीलाई स्वागत गर्दै मञ्चका अध्यक्ष भक्त गुरुङले कार्यक्रमबारे जानकारी गराएका थिए । कोषाध्यक्ष पुण्य रेग्मीले कोषबारे अपडेट गराए ।

कार्यक्रममा १४ वर्षीय बालिका स्मारिका न्यौपानेले नारी जागरणको महत्वसम्बन्धि मन्तव्य राखेकी थिइन् भने उद्धव भट्टराईले गीत र कल्पना त्रिपाठीले कविता प्रस्तुत गरे ।

मञ्चका सल्लाहकार रामशरण सिम्खडाले कार्यक्रमको टिपोट प्रस्तुत गरेका थिए । मञ्चकी उपाध्यक्ष एवम् महिला संयोजक सरस्वती केसीले कार्यक्रममा सहभागी अतिथि एवम् सहभागीलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र महिला अभियन्ताहरुको पनि सहभागिता थियो । कार्यक्रमको संचालन विमला सेनेले गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू