बुधबार, वैशाख १२, २०८१
02:06 | ०६:५१

बेलायतमा फरक ढंगले मनाइयो अन्तर्राष्ट्रिय नारी दिवस

नेपाली लिङ्क मार्च ९, २०२१

लण्डन । एसियन महिला एशोसिएशन (आमा) यूकेले विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । शनिबार र आइतबार २ दिन जुममार्फत बिशेष कार्यक्रम आयोजना गरिएको हो ।

यस बर्ष विश्वभर ‘चुज टु च्यालेञ्ज’ नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा आमाले विगत भन्दा फरक ढंगले उक्त दिवस मनाएको हो । 

अहिले संसारभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण भर्चुअल मनाइएको कार्यक्रममा ‘आइए एम बेलमाया’ नामक वृत्तचित्र प्रर्दशन गरिएको थियो । 

गरिबीको रेखामुनी जन्मिएकी बेलमायाको जीवन कथामा आधारित वृत्तचित्र थुप्रै महिलाहरुको लागि प्रेरणाको श्रोत बन्न सक्ने सहभागीहरुको भनाई थियो ।

एशोसिएशनकी अध्यक्ष विभा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आई एम बेलमायाकी निर्देशक सुकार्पेन्टर, बेवारिसे लास व्यवस्थापनमा महत्वपूर्व भूमिका निभाउदै आएकी सपना रोका मगर, ब्रिटिश गोरखा आर्मीकी क्याप्टेन अंशु गुरुङ, ब्यारिष्टर स्नेह शाक्य श्रेष्ठ लगायतले नेपाली महिलाहरुले भोग्दै आएको समस्या, संघर्ष, चुनौती, संभावना, उत्थान, अधिकार लगायत विषयमा आ-आफ्नो विचार राखेका थिए । 

उनीहरुले अझै पनि महिलालाई आफ्नै  घरमा विभेद रहेको बताउँदै विभेदको अन्त्य घरैबाट हुनु पर्नेमा जोड दिए । उक्त कार्यक्रमको मोडेरेटर थिइन् श्रद्धा गुरुङ ।  

वृत्तचित्र प्रर्दशनबाट संकलित रकम मध्ये केही बेलमाया र केही रकम वृत्तचित्र निर्माण समूहलाई प्रदान गरिने छ ।

त्यस्तै, विगत केही बर्ष देखि बेवारिसे लास व्यवस्थापनमा जुट्दै आएकी सपना रोका मगरको अभियानलाई सहयोग गर्न चाहनेलाई ‘गो फण्ड’ मार्फत सहयोग गर्न एसियन महिला एशोसिएशन यूकेले अनुरोध गरेको छ । आमाले नारी दिवसको अवसरमा जुममार्फत प्रर्दशन गरिएको वृत्तचित्रको टिकट खरिद गरिदिने सबैमा धन्यवाद व्यक्त गरेको छ ।

कार्यक्रममा तमुधिं यूके आमा समूहकी अध्यक्ष सिता गुरुङ र महासचिव यशोदा गुरुङले सपना रोका मगरको उच्च शिक्षामा सहयोग गर्ने उद्धेश्यले हौसलास्वरुप समूहको तर्फबाट ५० हजार रुपैयाँ सहयोग गरेको जानकारी गराए ।

बिसीसी यूके आमा समूहकी अध्यक्ष उर्मिला गुरुङले आफ्नो समूहले बेलमाया नेपालीलाई सहयोग गर्ने जानकारी गराइन् ।

श्रद्धा गुरुङले संचालन गरेको कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बेलायतकी अध्यक्ष प्रमिला लाबुङ राईले प्रेरणादायी अनुभव सुनाएकी थिइन् ।

वृत्तचित्र प्रर्दशनबाट ८ सय २ पाउण्ड संकलन रहेको जानकारी गराउँदै आमाले कार्यक्रममा विशेष अतिथिको रुपमा नेपालबाट सहभागी सपना रोका मगर र बेलमाया नेपाली, रिक्लेम दि फ्रेम कम्युनिटी फण्ड, गोर्खा सर्भिसेज लिमिटेडकी सुमन पुन, सुधा गुरुङ, मञ्जु राई, तमु धिं युके आमा समूह, मोना यूकेसहित वृत्तचित्रको टिकट खरिद  गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू