बिहीबार, वैशाख १३, २०८१
06:35 | ११:२०

इंग्ल्याण्डबाट विदेश भ्रमणमा जान आजदेखि अनुमति अनिवार्य, नभए जरिवाना

नयां नियमले नेपाली समेत प्रभावित हुने

नेपाली लिङ्क मार्च ८, २०२१

लन्डन । बेलायती नागरिकहरुले आज सोमबारदेखि अत्यावश्यक कामबाहेक विदेश भ्रमण गर्न नपाउने भएका छन् । विदेश भ्रमणमा जाने यात्रुहरुले उचित कारण सहितको फाराम बोक्नुपर्नेछ जसले उक्त भ्रमणलाई स्वीकृति दिइएको पुष्टि गर्छ ।

बिना कुनै कारण विदेश भ्रमण गरेको पाइएमा दुई सय देखि अधिकतम ६४ सय पाउण्डसम्म जरिवाना तिर्नुपर्ने नियम सरकारले कार्यान्वयनमा ल्याएको छ ।

यात्रा गर्नुअघि सरकारले निर्धारण गरेको फाराम भर्नुपर्ने छ र उक्त फाराममा आफ्नो भ्रमणको कारण स्पष्ट खुलाउनुपर्नेछ । यदि सन्तोषजनक कारण उल्लेख गरेको नपाइएमा यात्रा गर्न बन्देज लगाइनुका साथै जरिवानाको समेत सामना गर्नुपर्ने छ ।

यात्रा अघि अनिवार्य रुपमा तीन पेजको फाराम भर्नुपर्नेछ र ‘डिक्लेरेसन टु ट्राभल’ परमिट फाराम मोबाइल वा प्रिन्ट गरेर देखाउन सकिनेछ ।

विशेष कामबाहेक होलिडे मनाउने उद्देश्यले मानिसहरु बाहिरिन थालेपछि बाह्य मुलुकमा जानेका लागि पनि कडाइ गरिएको गृहमन्त्री प्रिती पटेलले बताएकी छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको लकडाउन सम्बन्धि मार्गचित्र अनुसार बेलायती नागरिकहरुले अन्य मुलुकमा होलिडे जान कम्तिमा आगामी मे १७ सम्म कुर्नुपर्नेछ ।

इंग्ल्याण्डमा हाल जारी लकडाउन र ‘स्टे होम’ को नियम लागू भएको हुँदा विशेष परिस्थितिबाहेक बेलायतबाट विदेश भ्रमणमा जानुलाई गैर कानूनी मानिन्छ । तर, काम, अध्ययन, स्वयंसेवकको भूमिका निर्वाहका लागि, स्वास्थ्य वा मलामी जस्ता कार्यका लागि भने यो नियम लागू हुनेछैन् ।

यसैगरी पेशागत क्षेत्र अन्तर्गतका पाइलट, क्याबिन क्रु, एरो स्पेश इन्जिनियर, बीबीसीका कर्मचारी तथा सीमारक्षक लगायतका मानिसलाई पनि यो नियम लागू हुनेछैन् ।

उक्त नियम कडाइका साथ पालना गर्न एअरपोर्ट तथा विभिन्न पोर्टहरुमा प्रहरीले निगरानी बढाएको यातायात विभागले जनाएको छ ।

यसका साथै अन्तरराष्ट्रिय मुलुकबाट आउने सबै यात्रुहरुका लागि ७२ घन्टा अगाडिको कोरोना परीक्षण गरेको नेगेटिभ प्रमाण पेश गर्नुपर्नेछ । तर सरकारद्वारा सूचिकृत ‘रेड लिष्ट’ अन्तर्गतका मुलुकबाट आउने यात्रुले दश दिनसम्म होटल क्वारेन्टिनका साथै त्यसबीचमा दुई पटक कोरोना परीक्षण गराउनुपर्नेछ ।

रेड लिष्टबाहेकका मुलुकबाट आउनेहरुले भने दश दिनसम्म होम क्वारेन्टिन बस्नुपर्नेछ । तर, बेलायतका अन्य राज्यहरु स्कटल्याण्ड, वेल्स् र नर्दर्न आयरल्याण्डले आफ्नो छुट्टै नियम लागू गर्नेछन् ।

सरकारको नयां नियमले नेपाली समेत प्रभावित हुने भएका छन् । सरकारी नियम अवज्ञा गर्दै अहिले नेपाल गएर गाउं गाउं डुल्ने एनआरएनए नेताहरुको बिगबिगी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू