शुक्रबार, चैत १६, २०८०
21:31 | ०३:१६

ब्राजिलमा कोरोनाबाट २ लाख ४० हजार बढीको मृत्यु

रासस-सिन्ह्वा फ्रेब्रवरी १७, २०२१

साओ पाओलो । ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । ब्राजिलका २ लाख ४० हजार भन्दा बढीको यो संक्रमणका कारण मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्म ब्राजिलमा कोरोनाको कारण २ लाख ४० हजार १५९ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

ब्राजिलमा गत २४ घन्टामा १ हजार १६७ जना कोरोना भाइरसका संक्रमित विरामीको ज्यान गएको पनि सो मन्त्रालयले जनाएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो ।

त्यसैगरी, गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा कम्तीमा पनि ५५ हजार जनामा संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत सातादेखि नै यहाँका कोरोना संक्रमितको संख्या ५० हजार नाघेको बताइएको छ ।

दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ९९ लाख २१ हजार ९९९ जना संक्रमित फेला परिसकेका छन् ।

यसअघि शुरुका दिनहरुमा पनि कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न नसकेको भन्दै ब्राजिलका राष्ट्रपतिको आलोचना हुँदै आएको थियो । तर पछिल्लो पटक यहाँ पनि भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा संक्रमित भेटिन थालेको समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू