शुक्रबार, चैत १६, २०८०
07:12 | १२:५७

बेलायती अर्थतन्त्रमा तीन सय वर्षपछिकै ठूलो गिरावट

जीडीपी ९ दशमलव ९ प्रतिशतले घट्यो

नेपाली लिङ्क फ्रेब्रवरी १२, २०२१

लन्डन । कोरोना महामारीका कारण बेलायतको अर्थतन्त्रले सयौं वर्ष पछिकै सबैभन्दा ठूलो नोक्सानी व्यहोर्नुपरेको छ ।

‘अफिस फर नेश्नल स्टाटिस्टिक्स’ (ओएनएस) बाट सार्वजनिक तथ्यांकअनुसार गत वर्ष बेलायतको जीडीपी ( कुल ग्राहस्थ उत्पादन) मा ९ दशमलव ९ प्रतिशतको गिरावट आएको छ ।

बेलायती अर्थतन्त्रमा यति ठूलो धक्का सन् १७०९ पछिकै पहिलोपटक भएको बीबीसीले जनाएको छ । जतिबेला अर्थतन्त्र १३ प्रतिशतले संकुचन भएको थियो ।

महामारी नियन्त्रणको प्रयासमा लागू लकडाउनका कारण धेरै व्यवसायहरु बन्द भएका, आर्थिक गतिविधिहरु न्यून भएका भएका तथा बेरोजगथारी बढेका जस्ता कारणले अर्थतन्त्र संकुचित पारेको हो ।

ओएनएसको तथ्यांकले अर्थतन्त्रमा भारी गिरावट आएपनि बेलायत आर्थिक मन्दीमा जानबाट भने जोगिएको देखाएको छ । गत वर्षको अन्तिम महिनामा बेलायतको जीडीपी १ दशमलव २ प्रतिशतले वृद्धि भएकोे छ । सरकारले लकडाउनलाई खुकुलो पारेको प्रभावस्वरुप हस्पिटालिटी र रिटेल क्षेत्रमा चहलपहल बढेको पाइएको छ । स्वास्थ्य सुरक्षासम्बन्धी गतिविधि बढ्नाले पनि अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ ।

सन् २०२० को पहिलो त्रैमासिक अवधिमा बेलायती अर्थतन्त्रमा २ दशमलव ९ प्रतिशतको गिरावट आएको थियो । तर दोस्रो त्रैमासिक अवधिमा देशव्यापी लकडाउनका कारण १९ प्रतिशतले गिरावट भएको थियो । तेस्रो त्रैमासिक अवधिमा हस्पिटालिटी क्षेत्र खुलाइएसंगै अर्थतन्त्रले १६ प्रतिशतको वृद्धिको राहत प्राप्त गरेको थियो । तर लकडाउन फेरि लागू गरिएसंगै आर्थतन्त्र फेरि सुस्ताउन पुगेको छ ।

बेलायती अर्थमन्त्री ऋषि सुनाकले देशको अर्थतन्त्रले इतिहासकै ठूलो धक्का सहनुपरेको प्रतिक्रिया दिएका छन् । यहि असरलाई कम गर्न हरसम्भव कोशिस गरिरहेको भन्दै उनले जुनसुकै मूल्यमा पनि रोजगारी र व्यवसायहरु टिकाइराख्ने लक्ष्यमा सरकार अडिग रहेको दोहोर्याएका छन् ।

बेलायतमा अहिले भइरहेको कोभिड खोप वितरणले अर्थतन्त्रका लागि सकारात्मक सन्देश दिएको यहाँका अर्थविदहरुले जनाएका छन् । बेलायतमा कोभिड खोप अभियान पूरा भएर लकडाउन हटेसंगै अर्थतन्त्रले तीव्र वृद्धि हासिल गर्न सक्ने सम्भावना कायम रहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू