बिहीबार, वैशाख १३, २०८१
12:34 | १७:१९

एनआरएनए यूके नेतृत्वलाई खर्च पारदर्शीता देखाउन चार उपाध्यक्षको चुनौति

नेपाली लिङ्क फ्रेब्रवरी १०, २०२१

लन्डन । एनआरएनए यूकेका चारजना उपाध्यक्षले सन् २०१९ को निर्वाचनमा निर्वाचन समितिले गरेको खर्चको पारदर्शीता देखाउन नेतृत्वलाई चुनौति दिएका छन् ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले ‘निर्वाचन समितिको हिसावकिताव पारदर्शी रहेको र कुनै हिनामिना भएको छैन्’ भन्ने आशयसहित विज्ञप्ति जारी गरेको भोलिपल्ट चार उपाध्यक्षहरु नारायण कंडेल, रामचन्द्र पोखरेल, मोहन कार्की र प्रेम गाहामगरले बुधबार सांझ एक संयुक्त विज्ञप्ति जारी गरि निर्वाचन समितिको हिसाव स्पष्ट नभएको भन्दै स्पष्ट पार्न चेतावनी दिएका हुन् ।

गलत हिसाब किताबलाई ‘क्लियर’ छ भन्दै बक्तब्यबाजी गरेर आर्थिक अनियमितताको ढाकछोप प्रयास नगर्न पनि उनीहरुले आग्रह गरेका छन् ।

‘एनआरएनए यूकेको सेप्टेम्बर २०१९ मा सम्पन्न निर्वाचनमा उमेदवारी दर्ता गराएका ११८ जना उमेदवारहरुले पद अनुसार तोकिएको उमेदवारी शुल्क नगदमा तिरेका थिए । जसको जोड ७१,४०० पाउण्ड हुन आउंछ । निर्वाचनमा निर्वाचन समितिले कुनै उम्मेदवारलाई उम्मेदवारी शुल्कमा मिनाहा गर्ने सहुलियत दिने वा अनुदान दिने कुरा भएन’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यो हिसाब कम वा बढि हुन सक्दैन । तर उमेदवार शुल्कको आम्दानी ७१,४०० पाउण्ड नदेखाई केवल ६८,७०० पाउण्ड मात्र देखाइएको पाइएको छ । अतः निर्वाचन समितिको हिसाब किताबमा गम्भीर गल्ती छ ।’ भएको आम्दानी र बुझाइएको आम्दानीको बीचमा २,७०० पाउण्ड फरक पर्न गएको उनीहरुको जिकिर छ ।

‘यो बेलायत निवासी नेपालीहरुको साझा सम्पत्ति हो । यो लगायत निर्वाचनताका अनेकौं हिसाब किताब र खर्चका विवरणहरु शंकास्पद छन् । हिसाब किताब, वील भरपाइको विवरण हामीबाट गोप्य राख्नु र यो हिसाव किताबमा प्रश्न उठाएकै आधारमा हामी निर्वाचित पदाधिकारीहरुलाई गैर आवासीय नेपाली संघ बेलायतको अभियानबाट पृथक गर्न खोज्नुले मामिला गम्भीर भएको र यसलाई ढाकछोप गर्न खोजिएको थप प्रष्ट हुन्छ’, विज्ञप्तिमा उनीहरुले भनेका छन् ।

‘अध्यक्ष आफैंले आर्थिक अनियमितताको छानवीन हुंदैछ पनि भन्ने अनि आफैंले हिसाब किताब ठिक छ भन्दै बक्तब्यबाजी गर्नुले छानवीनका नाममा अनियमितता लुकाउने प्रपन्च गरिएको छ’-उपाध्यक्षहरुको दावी छ ।

विज्ञप्तिमार्फत आर्थिक अनियमिता भएको अवस्थामा जिम्मेवार पदाधिकारीले नै वचाउ वा ढाकछोप प्रयास उपयुक्त नहुने औंल्याउन खोजिएको जनाउंदै उनीहरुले आर्थिक पारदर्शीतासहितको एनआरएन निर्माण गर्ने आफूहरुको अभियानलाई सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू