शुक्रबार, चैत १६, २०८०
13:58 | १९:४३

बेलायतमा होटेल क्वारेन्टिन तोडे १० वर्षसम्म कैद

५ देखि १० हजार पाउण्डसम्म जरिवाना

नेपाली लिङ्क फ्रेब्रवरी १०, २०२१


लन्डन । कोरोना भाइरसका नयाँ ‘भेरियन्ट’ पाइएका विश्वका झण्डै तीन दर्जन मुलुकबाट आउने यात्रुहरुको लागि बेलायतमा अनिवार्य ‘होटेल क्वारेन्टिन’ को नियम लागू हुंदैछ ।

आउँदो सातादेखि कार्यान्वनमा आउने होटेल क्वारेन्टिनको नियम उल्लंघन गर्नेलाई १० वर्ष कैदसम्मको कडा सजाय घोषणा गरिएको छ ।

कोभिडको नयाँ भेरियन्टका कारण ‘रेड जोन’ मा रहेका विभिन्न ३३ देशबाट आउने सबै यात्रुलाई बेलायतमा १० दिन होटेल क्वारेन्टिन बस्नुपर्ने नियम ल्याइएको छ ।

सोहि होटेल क्वारेन्टिनबाट उन्मुक्ति पाउन आफ्नो यात्रा विवरणबारे झूटो बोलेको पाइएमा अधिकतम १० वर्षसम्मको कैद गरिने घोषणा गरिएको छ । त्यस्तै, ५ देखि १० हजार पाउण्डसम्मको जरिवाना पनि घोषणा भइसकेको छ ।

बेलायत उत्रिएपछि यहाँको विमानस्थलमा भर्नुपर्ने ‘पेसेन्जर लोकेटर’ फारममा आफू कुन मुलुकबाट आएको भन्नेबारे गलत जानकारी उल्लेख गर्नेहरु अधिकतम सजायको भागी बन्नेछन् ।

बेलायतमा एकातिर तीव्र रुपमा कोभिडविरुद्धको खोप वितरण भइरहेको छ भने अर्कातिर नयाँ संक्रमणका केसहरु पनि बिस्तारै ओरालो गतिमा छन् । अब नियन्त्रणउन्मुख हुन लागेको अवस्था बाहिरी मुलुकहरुबाट आउने यात्रुहरुका कारण बिग्रिन नपाओस् भनेर सरकारले कडा नियम घोषणा गरेको हो । अहिले वितरण भइरहेको खोपले कोभिडको नयाँ भेरियन्ट नियन्त्रणका लागि काम नगर्ने चिन्ता बेलायत सरकारको छ ।

तर, होटेल क्वारेन्टिन उल्लंघनमा १० वर्ष कैदसम्मको सजायलाई भने जानकारहरुले ‘अतिरञ्जना’ भनेका छन् । बेलायतका सर्वोच्च अदालतका एक पूर्व न्यायाधिश लर्ड सम्पसनले यौन दुराचार वा हातहतियार प्रयोग भएका गम्भीर घटनामा संलग्न रहेकालाई भन्दा अझै ठूलो सजाय अव्यवहारिक रहेको बताए ।

सरकारका मन्त्रीहरुले भने कोभिड नियन्त्रणका लागि कुनै पनि सम्झौता गर्न सकिने अवस्था नरहेको भन्दै कडा नियमहरुको बचाउ गरेका छन् ।

 जोखिमयुक्त्त मुलुकहरुबाट बेलायत फर्किएका यात्रुहरुले १० रातसम्म  अनिवार्य होटल क्वारेन्टिन् बस्नुपर्नेछ । होटल क्वारेन्टाइनमा बस्दाको खर्च वापत १७५० पाउण्ड स्वयंले व्यहोर्नुपर्ने छ । अनिवार्य होटेल क्वारेन्टिन् आवश्यक पर्ने बेलायतको सूचीमा नेपाल भने छैन । 

१५ फेब्रुअरीबाट लागू हुने गरि बेलायत प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुले क्वारेन्टाइनको अवधिमा दुईपटक कोरोना परीक्षण गराउनुपर्नेछ । जस अनुरुप होटलमा वा होम आइसोलेशन जहाँ भएपनि यात्रुहरुले बेलायत प्रवेश गरेको दोस्रो र आठौँ दिनमा अनिवार्य कोरोना परीक्षण गराउनुपर्नेछ ।

फेब्रुअरी १५ तारिखबाट बेलायत भित्रिने प्रत्येक व्यक्तिले कोरोना सम्बन्धि तीनवटा टेस्ट गराउन पर्नेछ । उडान भर्नुअघि ७२ घन्टाको एउटा परीक्षण र बेलायत प्रवेश गरेको दोस्रो र आठौँ दिनमा गरी तीनवटा परीक्षण अनिवार्य गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू